कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ। कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ।
रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछिन्। यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ। ‘गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ’, मायाले भनिन्, ‘दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन। केही दिनदेखि गाह्रो भएको छ।’
पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ।
गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन्। गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो।
टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खासमेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन्।