कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिकामा रहेको नगर शिक्षा, युवा तथा खेलकुद शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । आफ्ना मागहरु पुरा नभएको भन्दै अखिल क्रान्तिकारीले अनिश्चितकालिन तालाबन्दी गरेको हो ।
८ बुँदामा रहेका मागहरु सम्बोधन नभएसम्म लगाइएको तालाबन्दी तोडफोड गरिए वा अन्य कुनै गतिविधि भएमा त्यसको क्षतिपुर्ति स्वयं शाखाको हुने अखिल क्रान्तिकारी बाँकेका संयोजक विश्वजितले बताए ।
‘माग पेश गरेको महिनौं पुगिसक्दा समेत स्थानीय सरकार र त्यसको शिक्षा शाखाले उक्त मागहरुप्रति बार्ताद्धारा हल नगरी वेवास्था गर्नुले शैक्षिक व्यापारीप्रति स्थानीय सरकारको लचकता, निरिहता र शिक्षाप्रतिको गैरजिम्मेवारपुर्ण रबैया प्रकट गरेको छ,’ ‘यसप्रति हाम्रो संगठनलाई थप गम्भीर एवम् आक्रोशित बनाउदैं दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत स्थानीय शाखामा तालाबन्दी गरेका हौं,’ उनले भने ।
शिक्षा शाखा प्रमुख रामबहादुर हमालले भने मागहरु नगर शिक्षा शाखा अन्तर्गत नभएको, नगरपालिका र राष्ट्रिय स्तरबाट सम्बोधन हुने खालका मागहरु भएकोले यहाँबाट समन्वय मात्र गरिरहेको बताए ।