नेपालगञ्ज : बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । यसअघि सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो ।
घोषणा हुन बाँकी रहेको राप्तीसोनारी गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएपछि अब जिल्लाका आठ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिकादेखि सबैभन्दा सुगम नेपालगञ्ज उपमहानगरपालिका लगायत सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताए । उनले जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको जनाउँदै अब ती पालिकाको अनुगमन निरन्तर गरिने बताए ।
फोकल पर्सन श्रेष्ठले जिल्लाका सबै पालिकाले खोपका सबै मापदण्ड पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताए । स्वास्थ्य कार्यालयका अनुसार सबै पालिकामा खोप लगाउने उमेर समूहका छुटेका बालबालिकालाई खोजेर खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले उपमहानगरभित्रका नियमित खोप लगाउन छुटेका ६९२ र कुनै पनि खोप नलगाएका एक सय ७७ गरी आठ सय ६९ बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाएको छ ।
नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि वैशाखसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो । त्यसअन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने र त्यसका लागि निरन्तर अनुगमन आवश्यक रहेको बताए । उनले यो घोषणालाई सधैँ कायम राख्न जिल्लाका सबै पालिकामा कुनैपनि बालबालिका खोपबाट वञ्चित नहुन भन्नेतर्फ गम्भीर हुन आवश्यक रहेको बताए । बालबालिकालाई अहिले १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप लगाउने गरिएको छ ।