११ मंसिर २०८१, मंगलवार
वैदेशिक रोजगारी: एक वर्षमा बाँकेका ९ जनाको मृत्यु

बाँकेबाट गत आर्थिक वर्षमा रोजगारीका लागि ८ हजार ९७ जना विदेश गएको तथ्यांक छ


  • रुपा गहतराज

  • १३ असार २०८०, बुधबार १५:०८

नेपालगन्ज: वैदेशिक रोजगारीको क्रममा एक वर्षको अवधिमा बाँकेमा ९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये नेपालगन्ज उपहमानगरपालिकाका दुई जना, कोहलपुरका एक जना, खजुराका तीन जना , बैजनाथका दुई जना, राप्तीसोनारीका एक जना गरी जिल्लाका ९ जनाले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनुको प्रमुख कारण भने यकिन भएको छैन ।सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले मृत्यु भएकामध्ये सबैको शव स्वदेश ल्याइसकिएको बताए ।

बाँकेबाट गत आर्थिक वर्षमा रोजगारीका लागि ८ हजार ९७ जना विदेश गएको तथ्यांक छ । सुरक्षित आप्रवासन कार्यक्रमले बाँकेमा सुरक्षित वैदेशिक रोजगारीका लागि १४ हजारभन्दा बढीलाई सूचना सम्प्रेषण गरेको जनाएको छ ।

आोलीका अनुसार बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको संख्या चालू आर्थिक वर्षमा १ हजार १ छ । सामीले निःशुल्क तालिम दिएर सीप सिकाउने काम पनि गरिरहेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित मनोसामाजिक समस्या भोगिरहेकाहरुको जीवनमा परीवर्तन ल्याउन पनि सामीले मनोसामाजिक परामर्श सेवा दिँदै आएको नेपालगन्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले बताइन् । उनले आत्महत्याको प्रयास गरेकाहरुलाई मनोसामाजिक परामर्श दिएर बचाएको समेत बताइन् ।

सामीले यस वर्ष ६४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको जनाएको छ । नेपालगञ्जमा १५, कोहलपुरमा १९, खजुरामा २५ र बैजनाथमा ५ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको छ ।

वित्तीय साक्षरता कक्षामार्फत वैदेशिक रोजगारीबाट आएको पैसालाई कसरी सदुयोग गर्ने भन्ने बारेमा पनि परामर्श गर्दै आएको कोहलपुर नगरपालिकाकी वित्तीय साक्षरता सहजकर्ता अनिता जिसी रावतले बताइन् ।

नेपालगन्जकी डिप्रेसनपीडित एक महिलाले मनोसामाजिक परामर्श पाएपछि आफ्नो जीवनमा आएको बदलाब र कोहलपुरकी विष्णु गोराथोकीले वित्तीय साक्षरता कक्षा लिएपछि श्रीमानले विदेशबाट पठाएको पैसाको सही सदुपयोग र बचत गर्ने आनीबानीमा विकास भएको अनुभव सुनाएका थिए ।

कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताए ।

Nabintech