काठमाडौं : असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ। हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ। चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए।
“हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपेपछि सात्विक आहार ग्रहण गरेर चतुर्मास व्रत बस्नुपर्ने शास्त्रीय मान्यता छ, कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ”, उनले भने।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ।
वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्। आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ। धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ।
यस्तो महत्त्व छ एकादशीको
चन्द्रमानको पात्रोअनुसार एकादशी महिनाको दुईपटक आउँछ। शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को। यो भगवान् विष्णुसँग सम्बन्धित तिथि हो। एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ।
सनातन समाजमा वैष्णव सम्प्रदायको प्रभाव फैलिएपछि एकादशीको पनि महत्त्व बढेको बताइन्छ। वैदिक परम्परामा भने अष्टमी, पूर्णिमा र औँसी तिथिलाई महत्त्व दिइएको छ।
एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (केराउ, चना, सिमी आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम पालना गर्छन्।
वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिक (मल) मास परेको वर्ष दुई एकादशी थपिन्छन्। मार्गशीर्ष (मंसिर) कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम मानिन्छ।
यी हुन् वर्षभर पर्ने एकादशी
उत्पत्तिका– मार्ग कृष्ण पक्ष
मोक्षदा– मार्ग शुक्ल पक्ष
सफला– पौष कृष्णपक्ष
पुत्रदा– पौष शुक्ल पक्ष
षट्तिला– माघ कृष्ण पक्ष
जया वा भीमा– माघ शुक्ल पक्ष
विजया– फाल्गुण कृष्ण पक्ष
आमलकी– फाल्गुण शुक्ल पक्ष
पापमोचनी– चैत्र कृष्ण पक्ष
कामदा– चैत्र शुक्ल पक्ष
बरुथिनी– वैशाख कृष्ण पक्ष
मोहिनी– वैशाख शुक्ल पक्ष
अपरा– जेष्ठ कृष्ण पक्ष
निर्जला– जेष्ठ शुक्ल पक्ष
योगिनी– आषाढ कृष्ण पक्ष
हरिशयनी– आषाढ शुक्ल पक्ष
कामिका– श्रावण कृष्णपक्ष
पुत्रदा– श्रावण शुक्ल पक्ष
अजा– भाद्र कृष्ण पक्ष
हरिपरिवर्तिनी– भाद्र शुक्ल पक्ष
इन्दिरा– आश्विन कृष्ण पक्ष
पापाङ्कुशा– आश्विन शुक्ल पक्ष
रमा– कार्तिक कृष्ण पक्ष
हरिबोधिनी– कार्तिक शुक्ल पक्ष
अधिक मासमा
पद्मिनी– शुक्ल पक्ष
परमा– कृष्ण पक्ष