२० कार्तिक २०८१, मंगलवार
कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र संचालनमा

बाढि र डुवानको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर तत्काल उद्दार, राहत र पुनःस्थापनाको तयारी


  • टाइम्स संवाददाता

  • १५ असार २०८०, शुक्रबार ११:५६

कोहलपुर :कोहलपुर नगरपालिकाले आज देखि आपतकालीन कार्यसंचालन केन्द्र संचालनमा ल्याएको छ । विपद्को अवस्थामा तत्काल उद्दार, राहत र पुनःस्थापनमा सहजताहोस् भन्ने उद्देश्यले आपतकालीन कार्यसंचालन केन्द्र संचालनमा ल्याइएको कोहलपुर नगरपालिकाका वातावरण शाखा प्रमुख सुभाष पौडेलले जानकारी दिनुभयो ।

उक्त केन्द्रमा उद्दार सामाग्री (लाइफ ज्याकेट, साइरन, बुट्स, लाइट्स) लगायत राखिएको छ । ` नगर प्रहरीलाई समेत परिचालन गर्ने गरि केन्द्रलाई प्रभावकारी बनाइएको छ उहाँले भन्नुभयो-`बाढि र डुवानको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर तत्काल उद्दार, राहत र पुनःस्थापनाको तयारी गरिएको छ ।´ बाढि पूर्व सूचना प्रणालीलाई पनि बलियो बनाइएको उहाँको भनाइ छ । `सकेसम्म क्षती नै नहोस् भन्ने हो उहाँले भन्नुभयो-भैहाले पनि कम क्षती होस् भन्ने सवालमा सूचना प्रणालीले ठूलो भूमिका निर्वाह गर्नेछ ।´ कोहलपुरमा बर्खायाममा बाढि, जाडोमा शितलहर, गर्मीमा खडेरी र आगलागी मुख्य बिपद पहिचान भएका छन् ।

बर्खायाममा आउने बाढि र डुवानबाट कोहलपुर वडा नम्बर २ को बनखेत, बिकास नगर, प्रेमनगर, पुष्पनगर, शक्तिनगर, कृष्णनगर, बर्दहवा, वडा नम्बर ५ को श्रीनगर र उदयपुर, वडा नम्बर ६ को सुतैया टोल, बालबिधा टोल र चन्दनाथ टोल जोखिम क्षेत्र पहिचान गरिएको छ । यस्तै वडा नम्बर ८ को मन्नापुर भकटी, पिपरी गाउँ, वडा नम्बर ९ को भवानीपुर, गणेश टोल, मधेसी टोल, समाबेशी टोल, बबई टोल र थारु टोल, वडा नम्बर १० को कालिकानगर वडा नम्बर ११ को मुक्तकमैया टोल पनि डुवानको जोखिम क्षेत्र पहिचान गरिएका छन् ।

यस्तै वडा नम्बर १२ को सुन्दरबस्ती, शान्ति टोल, मुसरी खेत, रामजानकी, रोहिणी, जानकी नगर, स्कुल टोल र १३ नम्बर वडाको सिमरी झोलुङ्गे पुलको दायाँबायाँ , भरैया थारुगाउँ, खड्कवार नेरामाबी उत्तर बस्ती डुवानको जोखिम क्षेत्र पहिचान गरिएको छ । यी बस्तीका २ हजार ३४ घरधुरी बाढि र डुवानको उच्च जोखिममा रहेका छन् भने ८ हजार ८ सय ९२ जना प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

आपतकालीन कार्यसंचालन केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले केन्द्र संचालनपछि विपद्को अवस्थामा तत्काल उद्दार, राहत र पुनःस्थापनमा सहजता हुने बताउनुभयो । उहाँले विपद व्यवस्थापनका लागि पूर्वतयारी आवश्यक रहेको पनि औल्याउनुभयो । वातावरण तथा विपद शाखा समिति समिति संयोजक पबित्रा थारुको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Nabintech