१० मंसिर २०८१, सोमबार
स्वास्थ्यकर्मी र सेनालाई सर्पदंश उपचार तालिम

  • टाइम्स संवाददाता

  • २२ असार २०८०, शुक्रबार १०:०७

 नेपालगन्ज: बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेना र स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचार र सचेतनासम्बन्धी तालिम दिइएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका घट्ना जिल्लामा बढ्दै गएपछि बाँकेको राप्तीसोनारीस्थित श्री अर्जुनबाण गण ओभरी व्यारेकमा सर्पदंशको उपचार र सचेतनामूलक प्रशिक्षण दिइएको हो ।

ओभरी व्यारेकका गणपति एवम् प्रमुख सेनानी अशोक खड्काले बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेना र सर्पदंश उपचार केन्द्र शम्शेरगन्जका स्वास्थ्यकर्मीलाई ओभरी व्यारेकमा प्रशिक्षण दिइएको जानकारी दिए ।
उनले भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट एवम् सर्पदंश विशेषज्ञ डा. कृष्णप्रसाद आचार्यले सर्पदंश जोखिम र उपचारका सवालमा प्रशिक्षण दिएको बताए ।
डा. आचार्यका अनुसार बर्खायाम सुरु भएसँगै सर्पदंश जोखिम बढी हुनेगर्छ । बैशाख महिनादेखि असोज महिनासम्म सर्पको जोखिम बढी हुन्छ । त्यसमा पनि साउन महिनामा सर्प बढी चलाएमान हुने भएकाले सर्पले टोक्ने जोखिम बढि हुनेगरेको छ ।
सर्पदंश रोग विशेषज्ञ डा. आचार्यले नेपालमा करिब ९० प्रजातिका सर्प रहेको जनाउँदै ती मध्ये २० प्रतिशत मात्रै बिषालु हुनेगरेको बताए । उनले खासगरी यो क्षेत्रमा गोमन र करेट प्रजातिका बिषालु सर्पको जोखिम धेरै रहेको बताए ।
डा. आचार्यले भने, ‘सर्पले टोके पनि समयमै उपचार पाए बिरामीको ज्यान जोगिन सक्छ । घर वरपरको वातावरण सफा राख्ने, झाडी भए हटाउने, घर वरपर दुलो (प्वाल) देखिए पुर्ने, सकेसम्म भुइँमा नसुत्ने, सुते पनि झुल लाएरमात्रै सुत्ने गरेमा सर्पदंशको जोखिम कम गर्न सकिन्छ ।’

राप्तीसोनारी गाउँपालिका-८ ओभरीमा तीन वर्षअघि सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो । बि.स. २०७७ मा स्थापना भएको सो केन्द्रले अहिलेसम्म बिषालु सर्पले टोकेका ८१ जनाको उपचार गरिसकेको छ ।

बि.स २०७७ सालमा ३ जना, २०७८ मा ३४ जना, २०७९ मा ३५ जना र २०८० सालको हालसम्म ९ जना बिरामीले सो केन्द्रबाट सेवा लिएको तथ्याङ्क छ ।  तीमध्ये तीन जना बिरामीलाई गोमन सर्पले डसे पनि उपचारबाट निको भएका थिए ।
Nabintech