९ मंसिर २०८१, आईतवार
बैजनाथमा ७६ करोड २८ लाख बजेट सर्बसम्मत पारित

बजेटले समग्र रुपमा बैजनाथको विकासलाई समेट्ने प्रयास


  • टाइम्स संवाददाता

  • २७ असार २०८०, बुधबार ०६:२५

बाँके,बैजनाथ : बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरिएको ७६ करोड २८ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट सर्बसम्मत रुपमा पारित गरेको छ ।

गाउँपालिका कार्यालय रामपुरमा मंगलबार सम्पन्न गाउँसभाले सर्बसम्मत रूपमा उक्त बजेट पारित गरेको हो । गाउँपालिकाको १३ औँ गाउँसभा यही असार ९ गते सुरु भएको थियो । गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष निर्मला रोकायले उक्त बजेट प्रस्तुत गरेकी थिइन ।सभामा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम असार ९ गते नै सर्बसम्मत रूपमा पारित गरिएको थियो ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष शाहीले यस वर्ष बजेट घटेर आएपनि महत्त्वपूर्ण योजना र कार्यक्रममा स्थानीय सरकारले बजेट बिनियोजन गरेको बताए । उनले ६ करोड दायित्व बजेटलाई घटाएर १ करोडमा झारिएको उल्लेख गर्दै भने, ‘घाटा बजेटलाई हामीले हटाएका छौँ, घाटा बजेट ल्याउँदै गर्दा स्थानीय सरकारका कार्य सम्पादन मुल्यांकनमा असर पर्ने भएको हुँदा दिगो विकासको लक्ष्यलाई समेट्न दायित्व बजेट घटाएका हौं ।’

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा झन्डै ८२ प्रतिशत पुँजीगत बजेट खर्च गर्न सफल भएको अध्यक्ष शाहीले जानकारी दिए । उपाध्यक्ष रोकायले बजेटले समग्र रुपमा बैजनाथको विकासलाई समेट्ने प्रयास गरेको बताइन ।

गाउँपालिकाभित्र देखा परेका खानेपानी समस्यालाई क्रमिक रूपमा सुधार गर्दै लैजाने उनको विश्वास छ । सो क्रममा  सभाका सदस्य एवम वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, सभाका सदस्यहरु भुमीसरा राना,  कर्णसिंह कठायत र धिरेनसिंह ठकुरीले पनि बजेटका बारेमा आ-आफ्नो धारणा राखेका थिए । सभाले स्वास्थ्य शाखा अन्तरगत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत करार सेवाका कर्मचारीलाई बिदाई गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त  सभामा अध्यक्ष शाही, उपाध्यक्ष रोकाय, सभाका सदस्य एवम  ८ वटै वडाका वडाअध्यक्ष तथा वडासदस्य, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखा अधिकृत पुर्णप्रसाद जैसी, आन्तरिक लेखा परिक्षक उपेन्द्र प्रसाद ढुंगाना, योजना शाखा प्रमुख डोटी नेपाली, प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, शिक्षा शाखा प्रमुख विश्वराज ढकाल, पशु विकास शाखा  प्रमुख खड्गबहादुर सिंह, स्वास्थ्य शाखा प्रमुख लक्ष्मणबहादुर शाही, प्राविधिक शाखा प्रमुख धर्मेन्द्र आचार्य लगायत अन्य कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सभा पश्चात गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० भित्र संचालित विकास निर्माण, योजना तथा कार्यक्रमलाई समेटेर प्रकाशित गरिएको ‘समृद्द बैजनाथ’ स्मारिका विमोचन गरियो । गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष रोकाय र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले संयुक्त रुपमा विमोचन गरेका थिए ।

यसैगरी गाउँपालिका उत्कृष्ट काम गरे वापत पशु विकास शाखा प्रमुख खड्गबहादुर सिंह, कानुन शाखा प्रमुख शिला पाठक, टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत प्रेमकुमारी थारु र स्वास्थ्य चौकी चिसापानीमा कार्यरत रामदास थारुलाई जनही नगद २० हजार र कदरपत्र प्रदान गरेर पुरस्कृत गरियो । त्यस्तै सुर्योदय माध्यामिक बिद्यालयलाई उत्कृष्ट बिद्यालयका रूपमा नगद १ लाख रुपैयाँ र कदर पत्र प्रदान गरिएको थियो ।

 

 

Nabintech