११ मंसिर २०८१, मंगलवार
कुपोषणबाट पीडित कर्णालीका बालबालिका

विकासमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसङ्ख्यक जनसङ्ख्या गरिवीको रेखामुनि


  • प्रभाकुमारी रावत

  • २७ असार २०८०, बुधबार १०:२१

 सुर्खेत :खरले छाएको, ढोका नभएको सानो एउटा झुपडी वरिपरी टेका लगाइएका काठहरु भताभुङ्ग अवस्थामा छन् । ओढ्ने, ओछ्याउने र लुगाफाटा जताततै छरिएका छन् । यही झुपडीमा एक्लै बस्नुहुन्छ, चौकुने गाउँपालिका–७ सान्नेघारीकी २२ वर्षीया मञ्जु नेपाली ।

मञ्जुले १८ वर्षको उमेरमा विवाह गर्नुभयो । उहाँका डेढ वर्षका जेठो छोरा दिलीप ५ किलोग्राम तौलका छन् । ६ महिनाकी कान्छी छोरी संगीताको तौल तीन किलोग्राम मात्रै छ । उहाँका यी दुवै सन्तानलाई कुपोषणको समस्या छ ।

गएको मङ्सिरमा पतिले दोस्रो विवाह गरेर भारत गएपछि उहाँको बिचल्ली भयो । परिवारका बाँकी तीन जना सदस्य पनि भारतमै काम गर्छन् ।
‘भएको थोरै जमिनमा सिंचाई छैन । आकासे पानीको भरमा खेती किसानी गरौं भन्यो बाली लगाउने मान्छे छैन,’ उहाँले भन्नुभयो ।
छिमेकी र आफन्तले बचेर दिएको खानाको भरमा मञ्जुले बल्लतल्ल आफ्ना दुई सन्तान जोगाइराख्नुभएको छ । मञ्जुका छोरा दिलीप एक वर्षदेखि कुपोषित छन् ।

गत भदौमा उहाँ दोस्रो पटक गर्भवती हुनुभयो । त्यस बेला काखे छोरा दिलीपको ज्यान जोगाइदिन भन्दै उहाँ स्वास्थ्य चौकी पुग्नुभयो । स्वास्थ्य चौकीले दिलीपमा कुपोषण देखिएको भन्दै थप उपचारका लागि पोषण पुर्नस्थापना गृह सुर्खेत पठायो ।

त्यहाँ रहँदा गर्भवति अवस्थाकी उहाँ र छोरा दिलीपले उपचार पाए । उहाँको गर्भमा रहेको शिशुको समेत राम्रो वृद्धि विकास भएको मञ्जुले बताउनुभयो । पुर्नस्थापना गृहमै उहाँले मङसिर २० गते छोरी संगीतालाई जन्म दिनुभयो ।

कर्णालीमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, १८ प्रतिशतमा कम तौल र चार प्रतिशतमा ख्याउटेपन छ । पाँच वर्ष मुनिका ४० प्रतिशत बालबालिकामा रक्तअल्पता छ । यी समस्याको कुनै न कुनै सम्बन्ध बालविवाहसँग छ ।

पुर्नस्थापना गृहमा रहँदा उहाँको नवजात शिशु र छोरा दिलीपको स्वास्थ्यमा सुधार आइरहेको थियो । तर २७ माघमा पोषण गृहबाट घर फर्किएको केही महिनापछि पुनः उहाँका दुवै सन्तान कुपोषणको सिकार बने । हाल राम्रो पोषण नपाएका कारण दुई बालबालिका कुपोषित भएका छन् । आमाको स्वास्थ्य पनि बिग्रिँदै गएको छ ।

१८ वर्षमा विवाह गर्नु भएकी उहाँले गत वर्ष पहिलो सन्तान जन्माउनुभएको हो । पहिलो सन्तानले राम्रो हेरचाह नपाउँदै दोस्रो बच्चा छोरी जन्मिएको उहाँले बताउनुभयो । सानै उमेरमा विवाह गरेकोमा उहाँलाई अहिले पछुतो छ ।

गुर्भाकोट नगरपालिका–६ तोरीबारीकी १९ वर्षीया निरुता वलीले १६ वर्षको उमेरमा बालविवाह गर्नुभयो । १५ महिनाअघि उहाँले छोरी जन्माउनुभयो । गत मङ्सिरमा छोरीलाई मेहेलकुनामा रहेको स्वास्थ्य चौकी लगेर जचाउँदा उहाँको तौल सात किलोग्राम मात्रै भएको थाहा भयो ।

त्यसपछि स्वास्थ्य चौकीले उहाँलाई कुपोषण भएको भन्दै वीरेन्द्रनगरस्थित पोषण गृहमा रिफर ग¥यो । उहाँले करिब दुई महिनासम्म त्यहाँ राखेर उपचार गराउँदा छोरीको स्वास्थ्यमा सुधार आयो । तर, त्यहाँबाट घर फर्केपछि अवस्था उस्तै भयो ।

‘कुपोषण भयो भनेर यहाँको स्वास्थ्य चौकीले पुर्नस्थापना गृहमा पठाउनुभन्दा यहीँ उपचारको बन्दोबस्त गरिदिए सहज हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘सन्तानलाई पोषण पुर्नस्थापना गृहबाट फर्काएपछि स्वास्थ्य अवस्था फेरी उस्तै बनेको छ ।’

बराहताल गाउँपालिका–७ की १७ वर्षीया कल्पना बोहोरा पनि आफ्नो १२ महिने छोरा लिएर लामाखालीमा रहेको स्वास्थ्य चौकीमा पुग्नुभयो त्यहाँ जचाउँदा पाँच किलोग्राम मात्रै तौल देखिएपछि स्वास्थ्यकर्मीले थप उपचारका लागि पोषण पुर्नस्थापना गृह सुर्खेतमा रिफर गरे ।

कल्पना कुपोषित बालबालिकालाई स्थानीय सरकारले सिफारिस पत्र लेखेर वीरेन्द्रनगर पठाउनुभन्दा पालिकामै पोषण पुर्नस्थापना गृह भइदिए सहज हुने बताउनु हुन्छ ।

स्थानीय तह सिफारिसमै सीमित
कर्णालीका दुर्गम पालिकामामात्र नभई पोषण पुर्नस्थापना गृहमा सिफारिस गर्ने काम प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले पनि गर्दै आइरहेको छ । कर्णाली प्रदेशका कुनै पालिकामा हालसम्म आफ्नै पोषण पुर्नस्थापना गृह छैन ।

कतिपय पालिकाले ‘गर्भवती महिलासँग मेयर, उपमेयर र वडाअध्यक्ष’ कार्यक्रम सञ्चालन गरेर एक÷एक क्यारेट अण्डा वितरण गर्ने काम गरिरहेका छन् । यस्ता कार्यक्रमसँगै पालिकाले पोषण पुर्नस्थापना गृह सञ्चालनमा ल्याए कुपोषित आमा र बालबालिकाको उपचारमा सहज हुने वीरेन्द्रनगर नगरपालिका–१३ की स्थानीय यसोधा आचार्यले बताउनुभयो ।

उहाँले प्रदेश राजधानी भएको पालिकामा बसेर पनि पोषणसँग सम्बन्धित केही सेवा सुविधा नपाएको उल्लेख गर्नुभयो ।
कर्णाली प्रदेशका तीन जिल्लामा पोषण पुर्नस्थापना गृह छन् । सुर्खेतमा प्रदेश अस्पताल मातहत ११ वेड, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ११ वेड र दैलेखमा जिल्ला अस्पताल मातहत ५ वेडको पोषण पुर्नस्थापना गृह संचालनमा छन् ।

कुपोषण भयो भनेर यहाँको स्वास्थ्य चौकीले पुर्नस्थापना गृहमा पठाउनुभन्दा यहीँ उपचारको बन्दोबस्त भइदिए सहज हुन्थ्यो । सन्तानलाई पोषण पुर्नस्थापना गृहबाट फर्काएपछि स्वास्थ्य अवस्था फेरी उस्तै बनेको छ ।

पोषण पुर्नस्थापना गृहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत पोषण महाशाखाले केही सहयोग गर्छ । अन्य व्यवस्थापन भने अस्पतालको आन्तरिक स्रोतमार्फत हुने गरेको प्रदेश अस्पताल सुर्खेतस्थित पोषण पुर्नस्थापना गृहकी व्यवस्थापक प्रभा सिंहले बताउनुभयो ।
सिंहका अनुसार पुर्नस्थापना गृह भएका जुम्ला र दैलेख बाहेकका अन्य सबै आठ जिल्लाका कुपोषित बालबालिका यहाँ आउने गरेका छन् ।

‘कुपोषितको उपचारका लागि छुट्याइएको ११ बेडको अस्पतालमा कहिलेकाहिँ त व्यवस्थापन गर्न नै असहज हुन्छ,’ व्यवस्थापक सिंहले भन्नुभयो, ‘पालिका र स्वास्थ्य संस्थाबाट सिफारिस लिएर आउनेलाई हामीले निश्चित समयसम्म राखेर हेरचाह तथा उपचार गरेपछि घर पठाउँछौं । यस्ता गृहहरू स्थानीय तहमै भएको भए नागरिकलाई अझै सहज हुन्थ्यो ।’

सानै उमेरमा विवाह गरेकाबाट जन्मिएका बालबच्चालाई कुपोषणको समस्या देखिएको छ । कुपोषणको अर्को प्रमुख कारण बालविवाह हो । बालविवाह न्यूनीकरणलाई जोड दिए मात्र यो समस्या केही हदसम्म न्यूनीकरण हुने देखिन्छ ।

तर चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले भने स्थानीय तहको स्रोतसाधन अनुसार पुर्नस्थापना गृह सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो ।

उहाँले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन आगामी नीति तथा कार्यक्रममा पोषणसम्बन्धी विषय समावेश गर्ने बताउनुभयो ।
पोषण पुनस्थापना गृह सुर्खेतबाट प्राप्त पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी सुर्खेत जिल्लाका पालिकाले पोषण पुर्नस्थापना गृहमा सिफारिस गरेर पठाएको देखिन्छ । यो जिल्लाका पालिकाहरूले आर्थिक वर्ष २०७४/०७५ मा ७९ जना, २०७५/०७६ मा ६८ जना र २०७६/०७७ मा ६९ जना बालबालिका सिफारिस गरेर पठाएको तथ्याङ्कको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ५३ जना, २०७८/०७९ मा ६३ जना र २०७९/८० को फागुनसम्ममा सुर्खेतका १३ कुपोषित बालबालिकालले पोषण पुर्नस्थापना गृहबाट सेवा लिएको तथ्याङ्क पोषण पुनस्थापना गृहमा छ ।

पोषण पुनस्थापना गृहको अवस्था
पछिल्ला ६ आर्थिक वर्षमा कर्णाली प्रदेशका सुर्खेतबाहेक कालिकोट, हुम्ला, डोल्पा, दैलेख, जुम्ला, सल्यान, जाजरकोट, मुगु र रुकुम पश्चिमबाट १ सय ७८ जनाले गृहबाट सेवा लिएका छन् । यसले यस क्षेत्रमा कुपोषणको समस्या रहेको र त्यसमा प्रभावकारी उपचार पद्धतिको खाँचो रहेको प्रष्ट देखिन्छ ।

विकासमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसङ्ख्यक जनसङ्ख्या गरिवीको रेखामुनि छन् । कर्णाली आर्थिक रूपमा विपन्न र सामाजिक हिसाबले पिछडिएको ठाउँमा पर्छ । केही वर्ष यता कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो गरि बढिरहेको छ ।

पोषण पुर्नस्थापना गृहको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ सेवा लिन आएका २ सय ७३ जना आमाहरूमध्ये १ सय ९८ जना २० वर्षमुनीका किशोरी छन् । आर्थिक वर्ष २०७७/०७८ मा १ सय ८ जना, २०७८/०७९ मा १ सय १५ जना र २०७९/०८० को फागुनसम्म ५० जना आमाहरूले पुर्नस्थापना गृहमार्फत सेवा लिएका छन् ।

सेवा लिन आउनेहरूको संख्या बढीरहेको र पुर्नस्थापना गृहमा आएका मध्ये ८० प्रतिशत किशोरीहरू २० वर्षमुनीका रहेको व्यवस्थापक सिंहले बताउँनुभयो ।

लामो समयसम्म प्रदेश अस्पताल सुर्खेतमा बाल रोग विशेषज्ञका रुपमा काम गरिसकेका डा. नवराज केसीले बालविवाह, आमाको शिक्षा, घरपरिवारले आमाप्रति हेर्ने दृष्टिकोण, सामाजिक मूल्यमान्यता जस्ता कारणले कुपोषणको समस्या निम्त्याउन प्रभाव पार्ने गरेको बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशमा कुपोषणको अवस्था विकराल रहेको र पहिलो चरणमै स्थानीय तहबाट कुपोषण रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । स्थानीय र प्रदेश सरकारले पोषणका क्षेत्रमा राम्रो लगानी गर्न नसकेको उहाँको भनाइ छ ।

कर्णालीका स्थानीय तहहरूले पोषणका क्षेत्रमा एक प्रतिशतभन्दा कम बजेट छुट्याएको पाइएको छ । कर्णाली प्रदेशले राष्ट्रिय स्वास्थ्य नीतिको सिको गर्दै ‘प्रदेश स्वास्थ्य नीति–२०७६’ ल्याएको छ ।

यो नीतिको बुँदा ५.१५ मा ‘प्रदेश वासीको पोषण अवस्थामा दिगो सुधार गर्न स्थानीयस्तरमै उत्पादन हुने स्वास्थ्य प्रवर्द्धक रैथाने खाद्य वस्तुको प्रयोग र पहुँचलाई बिस्तार गरिने,’ भनिएको छ । तर यो नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन । विकासमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसङ्ख्यक जनसङ्ख्या गरिवीको रेखामुनि छन् । कर्णाली आर्थिक रूपमा विपन्न र सामाजिक हिसाबले पिछडिएको ठाउँमा पर्छ । केही वर्ष यता कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो गरि बढिरहेको छ ।

नेपाल जानसाङ्खिक स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ अनुसार कर्णालीमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, १८ प्रतिशत बालबालिकामा कमतौल र चार प्रतिशत बालबालिकामा ख्याउटेपन रहेको छ ।

यस्तै, पाँच वर्षमुनिका ४० प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको तथ्याङ्क छ । १५ देखि ४९ वर्षका २१ प्रतिशत किशोरी तथा महिलामा पनि रक्तअल्पता हुने गरेको छ ।

यो तथ्याङ्कले कर्णाली प्रदेशमा कुपोषणको समस्या विकराल रहेको देखाउँछ । कर्णालीमा कुपोषणको अवस्थामा सुधार ल्याउन तत्कालै कुपोषित बालबालिकाको तथ्याङ्क निकाली प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।

Nabintech