९ मंसिर २०८१, आईतवार
५ हजार भन्दा बढि बोकेर सिमानाकामा पुगे पर्न सकिन्छ प्रहरीको फन्दामा

  • टाइम्स संवाददाता

  • ३० असार २०८०, शनिबार १६:१८

नेपालगन्ज:नेपाल–भारत सीमा ओहोरदोहोर गर्दै हुनुहुन्छ ? तपाईं सकेसम्म कम नगद बोक्नुस्, बोक्नैपरे रकमको स्रोत र बोक्नुपर्ने कारण तयार राख्नुस् । अन्यथा कुनैपनि बेला प्रहरी फन्दामा पर्न सक्नुहुन्छ ।

सशस्त्र प्रहरीको नेपालगन्ज भन्सारस्थित जमुनाह बिओपीबाट खटिएको टोलीले नेपालगन्ज–१६ जयसपुरका २० वर्षीय सोहेल कुरेशीलाई नेपाली २० लाख रुपैयाँसहित नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । उनको २० लाख त भन्सारले अनुसन्धानका लागि नियन्त्रणमा लियोनै कुरेशीलाई त्यतिनै अर्थात् २० लाख रुपिया थरौटी राखेर भन्सारले रिहा गरेको छ ।

नेपालगन्ज–१५ जमुनाहको शर्मा गल्लीबाट पक्राउ परेका कुरेशीको रकमको स्रोत र प्रयोजनबारे भन्सारले अनुसन्धान गरिरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लु प्रसाद शर्माले जानकारी दिए ।

विहीवार पक्राउ परेका उनी २० लाख रुपिया धरौटीमा रिहा भएको सूचना अधिकारी शर्माले  जानकारी दिए । ‘सम्पत्ति शुद्धिकरणको व्यवस्था अनुसार पाँच हजारबढी नगद बोकेर भन्सार क्षेत्रमा ओहोरदोहर गर्दा स्रोत र प्रयोजनको स्वयम्घोषणा गर्न सक्नुपर्ने व्यवस्था अनुसार अनुसन्धान गरिने गरेको’ शर्माले बताए ।

भारतको सीमावर्ती बजार रुपइडिहाबाट मोटरसाइकलको पछाडि बसेर नेपालगन्जतर्फ आउँदै गरेका कुरेशीलाई भन्सार क्षेत्रमा चेकजाँचमा खटिएको सशस्त्र प्रहरीको टोलीले २० लाख नेपालीसहित नियन्त्रणमा लिएर भन्सारलाई बुझाएको हो ।

कुरेशीलाई बोकेर आउने मोटरसाइकल भने चेकजाँचका क्रममा चालकले भगाएर भारततर्फ फरार भएका थिए । त्यसपछि पनि प्रहरीले रकम अबैध भएको आशंका गरेको जनाएको छ ।

Nabintech