काठमाण्डाै: लम्पी स्किन भएका गाईभैँसीको दूध खाँदा स्वास्थ्यलाई असर नगर्ने विज्ञले बताएका छन् । तर, राम्रोसँग उमाल्न विज्ञको सुझाव छ । लम्पी रोग गाईबस्तुमा मात्रै देखिने रोग भएकाले मानिसमा नसर्ने नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता मनोजकुमार शाहले बताउनुभयो ।
गाईबस्तुको अवस्था सामान्य छ भने निर्धक्क भएर दूध खान हुने उहाँको भनाइ छ । गाईभैँसीमा लम्पी स्किनको प्रकोप फैलिन थालेपछि अहिले धेरैजसोले दूध खान छोडेका छन् । डेरीहरुले पनि दूध सङ्कलन गर्न छोडेका किसानको गुनासो छ ।
नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता मनोजकुमार शाहका अनुसार गाईबस्तुको अवस्था गम्भीर छ, कल्चौडोमा घाउ खटिरा छ, पिप जमेको छ भने किसान बढी सचेत हुनुहुपर्छ । गम्भीर अवस्थाका गाईभैँसीको विशेष हेरचाह गर्नुपर्छ र यस्तो बेला दूध खानु हुँदैन ।
यस्तै, गाईभैँसीलाई एन्टिबायोटिक औषधि दिएका बेलामा पनि दूध खानुहुँदैन । उहाँकाअनुसार गम्भीर अवस्थाका गाईभैँसीले दूध नै दिँदैनन् । तर, सामान्य अवस्थाका गाईबस्तुको दूध खान हुने उहाँले बताउनुभयो । अहिले लम्पी रोग लागेका गाईभैँसीको दूध खान हुँदैन भन्ने भ्रम फैलिरहेकाले भ्रमको पछि नलाग्न पनि उहाँको आग्रह छ । लम्पी रोग लागेका गाईभैँसीको दूध खान हुँँदैन भन्नेमा कुनै वैज्ञानिक कारण नभएको पनि उहाँले बताउनुभयो ।
नेपालमा यो रोग पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखिएको थियो । शुरुका दुई वर्षमा १६ जिल्लाका २९ वटा पालिकामा तीन हजार तीन सय एक पशु सङ्क्रमित भएका थिए । त्यसपछि २०७९ सालको चैतदेखि कोशी प्रदेशबाट महामारीको रूपमा फैलिएर अहिलेसम्म देशभर फैलिसकेको छ । सात लाख ८२ हजार भन्दा धेरै पशु सङ्क्रमित भएका छन् भने २८ हजार भन्दा धेरै मरेका छन् ।
सङ्क्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ ।
ज्वरो आएको पशुलाई बथानबाट अलग्गै राख्न, आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीको आग्रह छ । यो रोगका कारण किसानलाई ३८ अर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भएको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ ।