११ मंसिर २०८१, मंगलवार
बाँकेमा बैंकिङ कसुरका ३०५ उजुरी दर्ता

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०८०, मंगलवार १६:५९

नेपालगञ्ज : बाँकेमा बैंकिङ कसुरका उजुरी दिनको संख्या अत्यधिक बढेको छ । आर्थिक वर्ष ०७९–०८० मा बैंकिङ कसुरका तीन सय पाँचवटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आर्थिक वर्ष ०७८/०७९ जम्मा यस्तै प्रकृतिका ७५ वटा उजुरीमात्र परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।

त्यसैगरी, आर्थिक वर्ष ०७७–०७८ मा १४ वटा उजुरी मात्र परेका थिए । बैंकिङ कसुरलगायत आर्थिक लेनदेनका मुद्दाको संख्या बढेको डिएसपी डाँगीले बताए । ‘रकम लिने र दिने वीच लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधान नभएपछि पीडितहरु उजुरी बोकेर प्रहरीमा आउँछन्,’ उनले भने, ‘दुवै पक्षलाई झिकाएर मेलमिलाप गराउने र उजुरीको बारेमा अनुसन्धान गरेर पीडित पक्षलाई न्याय दिने प्रयास गर्छौँ । दुवै पक्षलाई चित्त बुझ्ने गरि काम गरिरहेका छौँ ।’

पछिल्लो समय उत्पन्न आर्थिक संकटका कारण लेनदेन तथा बैंकिङ कसुरका मुद्दा बढेको डाँगीको बुझाई छ । प्रहरीमा उजुरीको चाङ देखिनु दुखद भएको उनले बताए । ‘आर्थिक संकटका कारण लेनदेन नमिलेका कयौं घटना प्रहरीसम्म पुग्न सकेका छैनन् । त्यो पनि जोड्ने हो भने आर्थिक अपराध भुसको आगोझैं घरघरमा फैलिसकेको मान्न सकिन्छ,’ उनले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली आर्थिक संकटले आर्थिक अपराध बढाएको बताए । आर्थिक गतिविधिमा जसरी समस्या पैदा भयो त्यसले सर्वसाधारणदेखि ठूल्ठूला व्यापारीसम्मलाई निरासा बनाएको उनको भनाई छ । ‘आर्थिक संकटले समस्या निम्त्याएको छ, तर सबै समस्याको कारण आर्थिक संकट मात्रै हो की होइन गम्भीरतापूर्वक हेर्नुपर्छ,’ उनले भने ।

बाँकेमा बैंकिङ कसुर मात्र नभइ अन्य आर्थिक अपराधको ‘ग्राफ’ पनि बढेको छ । गत असार १२ गते किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ । प्रबन्धक शाहीलाई कैदका साथै एक करोड २५ लाख रुपैयाँ जरिवाना हुने समेत विशेष अदालतले सजाय तोकेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका ११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई ऋण लगानी गर्दा बैंकलाई झुक्याएर एक करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा २७ जेठ, २०७७ मा शाही पक्राउ परेका थिए ।

शाहीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप थियो । शाही, जसगढसहितको आठ जनामाथि मालपोत कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जनाए अनुसार, आर्थिक वर्ष ०७९–०८० मा ठगी सम्बन्धी ३८ उजुरी परेका थिए । आर्थिक वर्ष ०७८–०७९ मा २४ वटा उजुरी दर्ता हुँदा आव ०७७–०७८ मा १६ वटा उजुरी मात्र परेका थिए । डिएसपी डाँगीका अनुसार समग्रमा आर्थिक वर्ष २०७९–०८० मा आर्थिक अपराधसम्बन्धी ३८ वटा उजुरी परेका थिए ।

Nabintech