१२ मंसिर २०८१, बुधबार
स्थानीयद्वारा एक दलित परिवारको निर्माणाधिन घर तोडफोड

खेतमा लगाएको अन्नबाली पनि काटेर लिएर गएको पिडितको भनाई


  • टाइम्स संवाददाता

  • १२ श्रावण २०८०, शुक्रबार १३:२४

बझाङ :वित्थडचिर गाउँपालिका–७ स्याल ढुङ्गाका पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानीयहरुले ०८० साउन १० गते तोडफोड गरी भत्काइ दिएका छन् ।

गैरदलित स्थानीयहरु घर निर्माणाधिन स्थलमा आएर साउन १० गते घरको ढोका, ढुङ्गा उखेलेर फालेको पीडितका छोरा करन ओखेडाले बताउनु भयो । उहाँले भन्नु भयो–‘२५ वर्षदेखि त्यो जमिन हामीले भोकचलन गर्दै आएका छौँ । हामीसँग लालपुर्जा समेत रहेको छ ।’

स्थानीय गैरदलित समुदायका व्यक्तिहरु आएर डुम तिमीहरुले सार्वजनिक जग्गामा घर लाउन पाइदैन भनेर घर भत्काउनुका साथै खेतमा लगाएको अन्नबाली पनि काटेर लिएर जानु भएको पीडित पुड्के ओखेडाले बताउनु भयो ।

पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दर्ता गरेर ओखेडा स–परिवार न्यायका लागि जिल्ला सदरमुकाम चैनपुरमा रहनु भएको छ । घर लगाउनु अगाडि पनि जग्गाको विषयमा विवाद भएर न्यायिक समितिमा पुगेको भन्ने जानकारी आएको र पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित स्थानीयहरुलाई जिल्लामा बोलाइएको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो ।

वित्थडचिर गाउँपालिका–७ का वडा सदस्य मुकुन्द जोशीले ऐलानी जमिन नजिकै ओखेडाको जमिन भएकाले त्यो विवाद उत्पन्न भएको र त्यसैको छलफलका लागि सदरमुकाम चैनपुरमा आउन लागेको बताउनु भयो ।

Nabintech