१० मंसिर २०८१, सोमबार
नेपालमा सेरोटाइप–२ डेंगु बढी

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०८०, शुक्रबार ०७:१६

काठमाडौं : नेपालमा डेंगु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको डेंगु ४१ प्रतिशत देखिएको जानकारी दिए। महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमूना परीक्षण गरेको थियो। परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ। तीमध्ये सेरोटाइप–१ केहीमा र  सेरोटाइप–३ पनि देखिएको छ।

सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ। एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने बताइन्छ।

अहिलेसम्म नेपालमा डेंगु सङ्क्रमणका चारवटै स्वरूपका सेरोटाइप देखिएका छन्। एउटा स्वरुपको सेरोपाइप मानिसमा देखिएपछि फेरि पनि त्यही  नलाग्ने हुन्छ। ‘चारैवटै सेरोटाइपको भिन्न भन्ने हुँदैन।  जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्छ’, उनले भने, ‘तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको सङ्क्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन्।’

डेंगु सङ्क्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक रहेको हुन्छ। पहिलोपटक सेरोटाइप–१ डेंगुको स्वरूप देखिएको छ भने अर्कोपटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ’, उनले भने, ‘यसरी पुनः डेंगु देखियो भने बिरामीलाई बढी जटिल बनाउँछ।’ डेंगु भाइरसको प्रोटिनको संरचनाका आधारमा सेरोटाइप छुट्याइने गरिन्छ।

शाखा प्रमुख डा दाहालले पहिलोपटक लागेको सेरोटाइपले  शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए। महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार ६८८ जनामा सङ्क्रमण देखिएको छ। सबभन्दा बढी सुनसरी जिल्लामा तीन हजार ४८६ जनामा देखिएको छ।

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ। डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि लाग्छ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ।

Nabintech