सुर्खेत : भेरी नदीमा बाढीको बहाव बढेपछि ‘अलर्ट’ जारी गरिएको छ। रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापनअनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको हो।
अहिले भेरी नदीमा बाढीको बहाव ७.६९ मिटर पुगेको छ। भेरी नदीमा ७ मिटर बाढी आएमा चेतावनी दिने र आठ मिटर पुगे खतरा मानिन्छ। अझै बाढीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ। भेरी नदीको तल्लो तटीय क्षेत्रमा रानीघाट, पाग्म, चेपा, तिखाकुना लगायत बस्ती छन्।
स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। त्यस्तै जाजरकोटका प्रमुख सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढे सतर्क रहन आग्रह गरिएको छ।