नेपालगञ्ज : बाँके कारगारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निःशुल्क शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।
फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगञ्ज उच्च बार एसोशिएशनद्वारा कारगारमा कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमर सादिकले कारगारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको जनाउँदै अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताए ।उनले कारगारमा धेरै कैदीबन्दी रहेको र उनिहरुसँगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको जानकारी दिए ।
जिल्ला अदालत बाँकेका न्यायाधीश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधि हस्तान्तरण गरेर आँखा उपचार शिविरको उदघाटन गरेका थिए । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कैदीबन्दीका लागि निःशुल्क उपचार शिविर राखेर निकै सह्रानीय काम गरेको बताए ।
कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच गरेर राखिएकाले पनि आँखा पाक्ने रोग फैलिएको मानवअधिकारकर्मीले जनाएका छन् । इन्सेकका क्षेत्रीय प्रमुख भोला महतले क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले सरुवा रोगको रुपमा रहेको ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ फैलिएको बताए । यसअघि केही दिन पहिले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुको पनि निःशुल्क आँखा परीक्षण गरेर औषधि वितरण गरिएको थियो ।