१० मंसिर २०८१, सोमबार
राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधी अभाव

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०८०, बुधबार १२:०४

बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधी अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दै गएको छ।

आँखा पाक्ने रोगका बिरामीलाई औषधी अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा.राम साहले बताए । उनका अनुसार १० दिनमा दुई सय ७३ जनाको आँखाको उपचार गरिएको छ ।

‘अस्पताल तथा स्वास्थ्य चौकीमा औषधी अभाव छ । बिरामी त्यसै घर फर्किन बाध्य छन्’, डा.साहले भने, ‘पालिकाकै एक मात्र राप्ती सोनारी अस्पतालमा दैनिक सयौँ आँखाका बिरामी आउने गर्छन् । तर दुर्भाग्य आँखामा हाल्ने औषधी छैन ।’

राप्ती सोनारी-३ आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि गुरौ थारूले सबैलाई आँखामा हाल्ने औषधी दिन नसकेको बताए । विनौना स्वास्थ्य चौकीका इन्चार्ज सन्दीप चौधरीले यही साउन २१ गतेदेखि ३० गतेसम्म एक सय ५८ बिरामी उपचार गर्न आएको जानकारी दिए ।

राप्ती सोनारीका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जिल्लामै औषधी अभाव भएकाले स्वास्थ्य चौकीमा समेत त्यसको असर परेको बताए । स्वास्थ्य शाखा प्रमुख केसीले भने, ‘जिल्लामै औषधी अभाव भएको छ ।’

राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीको संख्याअनुसार स्वास्थ्य चौकीमा औषधी पुर्‍याउन नसकिएको बताए । पौडेलका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र बजारमा औषधी अभाव भएका कारण पालिकाका स्वास्थ्य चौकीमा पनि त्यसको असर देखिएको हो ।

Nabintech