१० मंसिर २०८१, सोमबार
देशभर फैलियो डेंगु,साढे १२ हजार संक्रमित

सन २०२२ मा डेंगु संक्रमणबाट ८८ जनाको मृत्यु भएको थियो


  • टाइम्स संवाददाता

  • १ भाद्र २०८०, शुक्रबार ०९:४८

काठमाडौं: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार पछिल्ला दुई महिना नेपालमा डेंगु संक्रमण तीव्ररूपमा फैलिइरहेको छ । दुई महिनाकै अवधिमा ७५ जिल्लामा डेंगु संक्रमण देखा परेको छ ।

संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै जाँदा यो वर्ष पनि डेंगुले उच्च रूप लिने निश्चित चिन्ता इडीसीडीलाई छ । गतवर्षदेखि नेपालमा डेंगु संक्रमण शून्यमा झरेको छैन । हिउँदका पाँच महिना फाट्टफुट्ट देखिएको संक्रमण जुन महिनायता निरन्तर उकालो लागिरेहको छ । जुलाई १ देखि अगष्ट १६ सम्म डेढ महिनामा मात्रै १२ हजार ५८३ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

अगष्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै यो वर्ष डेंगु संक्रमितको संख्या १४ हजार ३५७  पुगेको छ । जुनयता मात्रै डेंगुका कारण १२ जनाको मृत्यु भएको छ ।

७५ जिल्लामा फैलिएको डेंगुबाट सबेभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार ९ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रममित भएका छन् । १२ जिल्लामा संक्रमितको संख्या डेढसयभन्दा माथि छ । समुदायस्तरमा संक्रमण फैलिएको र धेरै जिल्लामा देखिएको अवस्था हेर्दा डेंगुले महामारीको रूप लिएको धेरैको आँकलन छ ।

इडीसीडीका निर्देशक डा. रुद्रप्रसाद मरासिनी भन्छन्, ‘बढीभन्दा बढी मानिस सिकिस्त भएको र मृत्युदर उच्च भएको अवस्थालाई महामारी भन्न सकिन्छ तर अहिले संक्रमण नियन्त्रणमा नै छ ।’

नेपालमा यो वर्ष डेंगु संक्रमण असोजमा उच्च बिन्दुमा पुग्ने इडीसीडीको अनुमान छ । केही दिन पानी पर्ने केही दिन घाम लाग्ने मौसम लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम हुने इडीसीडीका अधिकारीहरुको भनाइ छ ।

 

सन २०२२ मा नेपालमा सबैभन्दा बढी डेंगु संक्रमण फैलिएको थियो । इडीसीडीको तथ्यांकअनुसार सन २०२२ को एक वर्षमा ५४ हजार ७८४ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । यो संख्या नेपालमा डेंगु शुरु भएयता  (सन २००४) यताकै सबैभन्दा बढी हो । सन २०२२ मा डेंगु संक्रमणबाट ८८ जनाको मृत्यु भएको थियो ।

Nabintech