बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौराको सुदूरपश्चिम प्रदेशभर रौनक छाएको छ। चार दिनसम्म मनाइने गौराको दोस्रो दिन आज नानी गौरा मनाइँदै छ। व्रतालु महिलाहरूले हिजो बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन छ। आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ। सावाँ, अपामार्ग लगायतका वनस्पति प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने दोगडाकेदार-३ सुनखोलाकी कमला जोशीले जानकारी दिइन्।
बिरुडा पञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन छ। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन छ। यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा हिजो बिरुडा भिजाए। व्रतालुले शिव पार्वतीको गाथामा आधारित फाग गाएर सामूहिक रूपमा बिरुडा भिजाउँछन्। पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ।
पौराणिक कालमा शिव प्राप्तिका लागि गौरा अर्थात् पार्वतीले निराहार आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यति वेलादेखि गौरा र शिवको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ।
दूर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो। सप्तमी तिथिमा गौरा भित्र्याउने चलन छ। भोलि नै महिलाहरूले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहेको छ।
पुरुषहरूले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्छन्। ज्योतिषहरूबीच मत बाझिएपछि यो वर्ष दुई गौरा भएका छन्। केही ठाउँमा भने भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भएको छ।
अगाडि मनाउनेको तर्क यो वर्ष अगस्ति उदयका कारण श्रावण शुक्ल पक्षमै गौरा मनाउनुपरेको र अगस्ति उदय भएपछि गौराको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको दाबी छ। भदौ २१ गते अगस्ति उदय भइसक्ने भएकाले भदौ ७ गते नै गौरा मनाउनुपरेको ज्योतिष डिल्लीराज जोशीले बताए।
तर गौरा पर्व भाद्र शुक्ल वा भाद्र कृष्ण पक्षमा मात्रै मनाइने परम्परा रहेकाले यो वर्षको गौरा भदौ १८ गतेदेखि नै शुरु हुनेछ। गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने चलन नरहेको पछाडि गौरा मनाउनेको तर्क छ। शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ।