६ मंसिर २०८१, बिहीबार
अङ्ग्रेजी बिषयको नाजुक नतिजा   !

हामी विच समन्वय छैन, शेयरिङ छैन । नजानेको कुरा सोध्न धक लाग्छ, जानेको कुरा सिकाउन अल्छी लाग्छ


  • प्रेम शर्मा

  • ६ भाद्र २०८०, बुधबार १६:२५

हालासाले राष्ट्रिय परीकक्षा बोर्डले कक्षा १२ को नतिजा सार्बजनिक गर्यो । सबै भन्दा धेरै बिद्यार्थी अङ्ग्रेजीमा असफल भए । विभिन्न संचार  माध्यमको हेडलाईन बन्यो । शिक्षाविदहरुलाई बहसको बिषय बन्यो । किन धेरै बिद्यार्थी अङ्ग्रेजी मै फेल भए ? प्रश्न उठ्यो, बहस भयो । आ- आफ्नै तर्क आए, बजार तातियो । अब केही दिनमा बजार सेलाउछ, बहस हराउँछ, समस्या भने जस्ताको तस्तै । अनुसन्धान हुदैन, कारण भेटाइन्न, समस्या सुल्झिने छाट्काट देखिन्न।
एक जना नामुद शिक्षाविदको प्रश्न थियो, कोरियान भाषा पाँचसात महिना मै सिकिन्छ, जापानी त्यस्तै  तर अङ्ग्रेजी बाह्र बर्ष पढ्दा – पढाउदा पनि किन सिकाइएन, किन सिकिएन?
 कसरी सिकियोस त ? अङ्ग्रेजीलाई भाषा हैन बिषयको रुपमा लिइन्छ, बिषयको रुपमा पढाइन्छ, कोर्स सकाइन्छ, परिक्षा गराइन्छ, कक्षा चढाइन्छ। अपवाद बाहेक, सुनाई हुदैन, सुनाइ पछि बोलाई हुदैन, पढाइ अनि लेखाइ हुदैन । भाषा सिकाइको प्राकृतिक क्रमलाई पालना गरिदैन, लागू गरिदैन।
अझ त्यो भन्दा झन खतरनाक कुरो अङ्ग्रेजी अफ्ट्यारो बिषय भन्ने हाउगुजी विद्यार्थीको मस्तिष्कमा शुरुमै घुसाइन्छ। बालमस्तिष्कमा बसेको अङ्ग्रेजीको हाउगुजीले बालबालिकाको मनोवल सत्लक्कै खाइदिन्छ । हाउगुजी झन्झन् मोटाउदै जान्छ, अजङ्गको हुन्छ । बालबालिकामा अङ्ग्रेजी प्रती वितृष्णा पैदा हुन्छ, पढ्नै मन नलाग्ने, अङ्ग्रेजी किताब हेर्नै मन नलाग्ने, हुँदा हुँदा अङ्ग्रेजी शब्द सुन्नै मन नलाग्ने ।
अनि कसरी आउँछ अङ्ग्रेजीको उत्तम नतिजा ? न्युटनको चाल सम्बन्धि तेस्रो नियमलाई मान्ने हो भने कुनै पनि क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ। नपढिएको, नजानिएको, अपहेलनामा पारिएको  बिषयमा राम्रो नतिजा आउने कुरा कसरी सोच्नु?
तर यो नतिजाले एउटा राम्रो पाठ भने सिकाएको छ। हामीले अङ्ग्रेजी सिकाउन प्रयोग गरिएको तवर तरिका ठिक भएन, सफल भएन,  फलदायी भएन। अङ्ग्रेजी प्रतिको सोच र मानसिकता बदलौ, सिकाउने तवर तरिका बदलौ । यो गम्भीर लज्जाको बिषय भयो, अङ्ग्रेजी प्रशिक्षक ज्युहरुका लागि लज्जाको बिषय साथै वर्तमान शिक्षण प्रणालीको  चुनौतीको बिषय ।
नेपोलियन वोनापार्ट्को भनाई सापटी लिनेहो भनेपनि, असम्भव भन्ने शब्द मुर्खहरुको शब्दकोषमा मात्रै हुन्छ । कि हामी सरोकार वालाहरुले आफुलाई मूर्ख स्वीकार गरेर बस्नु पर्यो हैन भने यो दुनियाँमा हरेक समस्याको समाधान हुन्छ भन्ने तथ्यलाई अङ्गिकार गर्दै अगाडी बढ्नुको विकल्प रहेन । दुनियाँ मङ्गल ग्रहमा बस्ती बसाउने योजनामा छ, कृतिम चन्द्रमाको विकासमा जुटेको छ। हामी अङ्ग्रेजी भाषा बाह्र बर्षमा पनि सिकाउन नसक्ने कसरी हुनसक्छ ?
हामीले सिकेको कुरा  अक्षरस व्यबहारमा उतारौ । सिकेका सिद्धान्तहरुलाई सरलिकृत गरौं, प्रयोग गरौं ।एउटा डाक्टरको कारण विरामीको मृत्यु हुँदा विरोध हुन्छ, तोडफोड हुन्छ, टायर बल्छ। हामीले बाह्र बर्ष पढाउदा पनि असफल सिकारु उत्पादन गर्यौ । यसले समाजमा पारेको क्षतिको लेखाजोखा कसले गर्ने ? यो कसरी न्यायोचित हुनसक्छ ?
अब विद्यालयमा छुट्टै भाषा प्रयोगशाला ( Language Lab) निर्माण गरौं । आजको दिनमा देशका धेरैजसो विद्यालयमा ईन्टरनेटको पहुँच पुगिसकेको अवस्था छ। ईन्टरनेटको गोरेटोले आजका अङ्ग्रेजी भाषा सिकारुलाई आधिकारिक अङ्ग्रेजीको दुनियाँ   ( Authetic English Language world ) मा सहजै पहुँच पुर्याइदिन्छ। अङ्ग्रेजी पाठ्यपुस्तकको सिमितता बाट माथी उठौ । विद्यार्थीहरुको रुचि र तह अनुसारका भाषाका बिषय बस्तु खोजौ, खोज्न लगाउ, जम्मा गरौं, प्रयोग गरौं, प्रयोग गर्न लगाउ । यस्ले विद्यार्थीको सिकाइ प्रतिको उतप्रेरणा अबश्य बढाउने छ।  उतप्रेरणा बढ्नुको अर्थ सिकाइको भोक, प्यास जाग्नु हो । जब सिकारुमा सिकाइको भोग, प्यास जाग्छ यसलाई तृप्त गर्न उ आफै अग्रसर हुन्छ।
अभ्यास नगरिएको विद्या बिष समान हुन्छ भन्ने भनाई शैक्षिक क्षेत्रमा लाग्नेहरुका लागि परिचीत कथन हो । अभ्यास बिना कुनैपनी कुराको सिकाई प्राय असम्भव हुन्छ । सुन्न सुनेर सिकिन्छ, बोल्न बोलेर सिकिन्छ, पढ्न पढेर सिकिन्छ अनि लेख्न लेखेर । भाषा प्रशिक्षक  कक्षामा  ब्यबस्थापक बनौ, सहभागी बनौं, प्रेरक बनौ तर क्रियाकलापमा सिकारुलाई नै सहभागी गराउ, गरेर सिक्ने सिद्धान्तको प्रयोग गरौं । सिकारुलाई सुन्नदिउ, बोल्नदिउ, पढ्नदिउ उनिहरुलाई नै लेख्नदिउ।
यहाँनेर प्रश्न उठ्ला पुर्वाधार छैन, कक्षामा विद्यार्थीको उच्च चाप छ, विद्यार्थीको तह फरक छ, सिकाइको गति फरक छ, कसरी यो सम्भव हुनसक्छ ? भने जस्तो सजिलो कहाँ छ?
 हो यो दुनियाँमा सजिलो केही छैन । पशुपति शर्माको गितलाई मान्नेहो भने सुतिसुती खादा पनि ढाड दुखेर मार्छ ।  दुख नसहेर यो संसारमा केही पनि नयाँ  आविष्कार भएको छैन । परिश्रम नगरेर दुनियाँमा कोही पनि सफल भएको छैन । यदी यो संसारका सबै नारीले प्रशवपिडाको भयले गर्भाधान गर्न छोडिन भने सृष्टिले निरंतरता पाउदैन। सृष्टिको निरन्तरताका लागि हरेक आमा भयंकर प्रशवपिडा बाट गुज्रिन्छ्न तर सन्तानको आगमनले तिनका पिडामा मलम लगाइदिन्छ।
हामीले भन्ने गरेका छौँ घर बलियो हुन जग बलियो हुनुपर्छ ।माथिल्लो कक्षामा पढाउनेले तल्लो कक्षा पढाउनेको टाउकोमा दोष थुपारेर उम्कन खोज्दैछौ । तल्लो कक्षामा पढाउने शिक्षकले नपढाएर पठाए, जान्ने नबनाएर पठाए । तर हामी विच समन्वय छैन, शेयरिङ छैन । नजानेको कुरा सोध्न धक लाग्छ, जानेको कुरा सिकाउन अल्छी लाग्छ।  अनि कसरी  हुन्छ परिवर्तन ?
 हो , आजको नेपाली विद्यालयको शिक्षण पद्धतिमा Learning gap एउटा विकराल समस्याको रुपमा रहेको छ जस्ले सिकारुको सिकाइ प्रक्रियालाई नै भताभुङ्ग पारिदिएको छ। सिकारुले तह अनुसार सिक्नुपर्ने बिषयबस्तु सिकेनन भने उनीहरुको सिक्ने क्रमनै भताभुङ्ग हुन्छ। तह अनुसारको सिकाइ सक्षमता विकास हुदैन।त्यसकारण विद्यालय शिक्षाको प्रथम तह बाट नै सिकारुलाई तह अनुसारका सिकाउनुपर्ने कुराहरु सिकाउदै जाउ।  बलियो जनशक्तिको विकास गरौं र अङ्ग्रेजी बिषयको नतिजा सुधार गरौं ।
Nabintech