१० मंसिर २०८१, सोमबार
डुडुवा गाउँपालिकाको घर-घरमा स्वास्थ्य सेवा

डुडुवाका ४४ हजार एक सय ४४ जनालाई स्वास्थ्य कार्ड वितरण गर्ने योजना


  • टाइम्स संवाददाता

  • १० भाद्र २०८०, आईतवार १०:००

बाँके, डुडुवा :जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउन डुडुवा गाउँपालिकाले ‘घर-घरमा स्वास्थ्य सेवा’ अन्तरगत दोस्रो चरणको अभियान शुरु गरेको छ । गाउँपालिकाका सम्पूर्ण नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अनुरुप पालिकाले ०७४ सालदेखि नै अभियान थालेको थियो । कोभिड-१९ का कारण केही वर्ष अभियान प्रभावित भएपछि अहिले पुनः दोस्रो चरणको अभियान थालिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले शुरुको वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर शुरु गरेको बताउँदै अभियानलाई अझैँ प्रभावकारी बनाउन दोस्रो चरणको अभियान थालिएको बताए । अभियानको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले पालिकाका कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्नका लागि स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलोमै पठाएको बताए । उनले भने, ‘घर-घरमा स्वास्थ्य सेवासँगै ज्येष्ठ नागरिकको उपचारलाई पनि प्राथमिकता दिएका छौँ । स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन निःशुल्क प्रयोगशाला र अस्पतालको व्यवस्थापन गरिदै छ ।’

गाउँपालिकाको वार्ड नंं १–६ वटै वडासम्म ६ वटा टोलीमार्फत २४ जना स्वास्थ्यकर्मी र सहयोगी परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए । उनले टोलीले प्रत्येक घरमा पुगेर हरेक व्यक्तीलाई स्वास्थ्य कार्ड वितरण गरिरहेको बताए । उनका अनुसार टोलीले स्वास्थ्य कार्ड वितरणसंगै हरेक नागरिकको स्वास्थ्य परीक्षण तथा दीर्घरोगीहरुको बारेमा समेत विवरण संकलन गरिरहेको छ ।

डुडुवाका ४४ हजार एक सय ४४ जनालाई स्वास्थ्य कार्ड वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । ‘टोलीले कृषि, पशु र पञ्जीकरणसम्वन्धी सूचना संकलन, अभिलेखीकरण र आवश्यक जानकारी समेत लिइरहेको छ,’ स्वास्थ्य शाखा प्रमुख शर्माले भने ।
पालिकाले यसवर्षदेखि चारवर्षे विशेष रणनीतिका साथ काम गर्न शुरु गरेको पालिका अध्यक्ष चौधरीले बताए । उनका अनुसार पालिकाले शुरुको वर्षदेखि विशेष योजनाका साथ शुरु गरेको कार्यलाई अब प्रभावकारी बनाइ अन्तिम रुप दिइनेछ । सो अभियानको गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले वडा अन्तर्गत विभिन्न स्थानबाट शुरु गरेका थिए ।

Nabintech