११ मंसिर २०८१, मंगलवार
नेपालगन्जका मुख्य सडक तथा चोकहरूमा छाडा चौपायाले सवारी आवागमनमा समस्या

छाडा चौपायाले दिउँसो र राति सवारी दुर्घटना बढाउने समस्या


  • सिराज खान

  • १२ भाद्र २०८०, मंगलवार १०:५१

नेपालगन्ज: पश्चिम नेपालको ठूलो सहर नेपालगन्जका मुख्य सडक तथा चोकहरूमा घोडा, खच्चड, गाईवस्तुलगायत छाडा चौपायाको समस्या बढेको छ। सडकमा छाडा घोडा, खच्चड र गाईबस्तुका कारण सवारी आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटना हुन थालेका छन्।

सडकका छाडा चौपायाको समस्या समाधानप्रति नेपालगन्ज उपमहानगरपालिकाले ध्यान नदिएकै कारण फेरि यो समस्या दोहोरिएको गुनासो स्थानीय नगरवासीको छ। सहरको मुख्य चोकहरू त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा छाडा घोडा, खच्चड र गाईगोरु यत्रतत्र भेटिने गरेका छन्। सो क्षेत्रमा सवारी दुर्घटनाको जोखिमसँगै सर्वसाधारणलाई सडक किनारमा हिँड्न तथा सडकमा सवारी चलाउन निकै समस्या हुने गरेको छ। छाडा चौपायासँग मोटरसाइकल ठोक्किएर प्रदीप थारूको नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थारू सवार लु. ८२ प ६४६८ नम्बर मोटरसाइकल आइतबार राति सडकमा छाडा गाईसँग ठोक्किएर गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता नारायण डाँगीले छाडा चौपायाले दिउँसो र राति सवारी दुर्घटना बढाउने समस्या देखिएको बताउनुभयो। नेपालगन्जको विशाल नगरबाट तेज नगर जाने बाटोमा मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको थियो। नागरिक सरोकार समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठले छाडा चौपाया नियन्त्रणको माग गर्दा पनि सुनुवाइ नभएपछि कतिपयले अकालमै ज्यान गुमाउने गरेको बताउनुभयो। रातिको समयमा बिच सडकमा बसेका छाडा चौपायासँग सवारीसाधन ठोक्ँकिदा दुर्घटना हुन्छ, मान्छेको मृत्यु हुन्छ, उहाँले भन्नुभयो। उहाँले गाईगोरु, घोडा र खच्चड पाल्नेहरूले आफ्ना चौपायालाई बजारमा छोड्ने गर्दा पटक पटक यस्ता समस्या आउने गरेको बताउनुभयो। यो समस्या समाधानका लागि धेरै पहिलेदखि प्रयास गर्दै आए पनि समाधान हुन नसकेकोमा संयोजक श्रेष्ठको भनाइ छ।

नेपालगन्जमा छाडा चौपाया राख्नका लागि कान्जीहाउस सञ्चालनमा रहे पनि उचित प्रयोग हुन सकेको छैन। उक्त समस्या समाधान गर्न बृहत् गौशाला निर्माण गर्नुपर्ने माग उठेको छ। नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट छाडा चौपायाको समस्या समाधान गर्न निरन्तर रूपमा विभिन्न किसिमको प्रयास भइरहेको बताउनुहुन्छ तर समस्या भने ज्युँका त्युँ नै रहेको छ।  गोरखापत्रबाट

Nabintech