२२ कार्तिक २०८१, बिहीबार
अतिक्रमित जग्गा खाली गर्न नेपालगन्ज उपमहानगरको अन्तिम अल्टिमेटम

सहज रूपमा जग्गा खाली नगरे डोजर लगाएर जग्गा खाली गराउने तयारी


  • टाइम्स संवाददाता

  • १२ भाद्र २०८०, मंगलवार १९:४४

नेपालगन्ज: नेपालगन्जस्थित बागेश्वरी मन्दिरपूर्व, न्यूरोड पश्चिमतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बङ्गला कब्जागरी बसेकालाई मङ्गलबार साँझसम्म जग्गा खाली गर्न नेपालगन्ज उपमहानगरले अन्तिम अल्टिमेटम दिएको छ ।

मङ्गलबार दिउँसो नेपालगन्जका उपमहानगर प्रमुख प्रशान्त विष्ट, वडा १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा २ का वडाध्यक्ष मनोज श्रेष्ठलगायतको टोलीले दुवै ठाउँमा पुगेर आज साँझसम्म अतिक्रमित जग्गा खाली गर्न अन्तिम अल्टिमेटम दिएको हो ।

नेपालगन्ज उपमहानगरका प्रमुख विष्टले उच्च अदालतको आदेशअनुसार आज साँझसम्म जग्गा खाली गर्न अतिक्रमण गरेकासँग आग्रह गर्दै त्यसो नगरिए बुधबारबाट उपमहानगरपालिकाले खाली गराउने चेतावनी दिए ।

उहाँले सहज रूपमा जग्गा खाली नगरे डोजर लगाएर जग्गा खाली गराउने तयारी गरिएको बताए । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले ७ दिनको म्याद राखी पसल हटाउन सूचना जारी गरेपछि व्यवसायीहरू उच्च अदालत तुलसीपुर नेपालगन्ज पुगेका थिए ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले निषेधाज्ञा मुद्दामा अर्को सूचना जारीगरी हटाउने म्यादसम्म निवेदकले पसल, सुरक्षित रूपमा हटाउन सक्ने नै हुँदा हाल सोही बमोजिम गर्नु भनी आदेश जारी गरेपछि उपमहानगरले खाली गराउन थालेको छ ।

अदालतको सोही आदेश बमोजिम नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी पूर्व लाइन, न्यूरोड पश्चिम रहेका पसल हटाउन उपमहानगरपालिकाले अन्तिम पटक म्यादसहित सार्वजनिक सूचना जारी गरेको थियो ।

अब नेपालगन्ज उपमहानगरपालिकाले गैरकानुनी रूपमा बागेश्वरीपूर्व न्यूरोडमा रहेका पसल र दैलेखी बङ्गला कब्जागरी बसेकालाई हटाउने जनाएको छ । अदालतमा निवेदकका तर्फबाट निर्दिपकुमार श्रेष्ठ र विपक्षी नेपालगन्ज उपमहानगरपालिकाका तर्फबाट अधिवक्ता लोकबहादुर शाह, वसन्त गौतम, विश्वजित तिवारी, विकास आचार्य र केबलसिंह थारुले बहस गरेका थिए ।

यसअघि रिट निवेदक कृष्णप्रसाद श्रेष्ठ समेत सार्वजनिक सरोकारका क्षेत्रका वकालत गर्ने कानुन व्यवसायीद्वारा दायर रिटको अन्तिम सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवाली र पुरुषोत्तमप्रसाद ढकालको इजलासले तीन बुँदे आदेश जारी गरेको थियो ।

आदेशमा अदालतले बागेश्वरी मन्दिरदेखि पूर्व न्यूरोडदेखि पश्चिमको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न आदेश दिएको थियो । विकासका लागि नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठले अब अतिक्रमित जग्गा छिटै खाली हुने विश्वास बढेको बताए ।

Nabintech