११ मंसिर २०८१, मंगलवार
आज श्रीकृष्ण जन्माष्टमी देशभर सार्वजनिक बिदा

  • टाइम्स संवाददाता

  • २० भाद्र २०८०, बुधबार ०७:४८

नेपालगञ्ज:आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णले व्यक्त गर्नु भएको ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

श्रीकृष्णजन्माष्टमीका अवसरमा आज ललितपुरको पाटनको मङ्गलबजारसहित देशभरका कृष्णमन्दिरमा मेला लाग्दछ । मंगलबजारको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।  सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

Nabintech