काठमाण्डाै: बझाङ, बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले खुला चौरमा रात बिताएका छन् । पटक–पटक परकम्प गइरहेकाले स्थानीयबासिन्दा रातिदेखि घरबाहिरै खुला चौरमा बसेका हुन् । केही घरमा क्षति भएको र फेरि भूकम्प आउन सक्ने डरका कारण उनीहरु घरबाहिर बसेका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्प पीडितलाई विद्यालय तथा सार्वजनिक ठाउँ र खुला चौरमा राखिएको छ । उनीहरुलाई ४० वटा पाल वितरण गरी टेन्टमा राखिएको हो । उनीहरुको खाने र अस्थायी रुपमा बस्नका लागि स्थानीय पालिकाको समन्वयमा व्यवस्थापन भइरहेको छ ।
बझाङमा हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । यी भूकम्पपछि लगातार परकम्प गइरहेका छन् । भूकम्पमा परि बझाङमा १३ जना र बैतडीमा दुई जना घाइते भएका छन् ।
बझाङमा घाइते भएका १३ जनामध्ये २ जनाको उपचार भइरहेको अरु प्राथमिक उपचारपछि घर फर्किएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–११ की ४५ वर्षकी गुनदेवी धामी भूकम्पपछिको पहिरोमा बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीले जानकारी दिनुभयो ।
बझाङको चैनपुर आसपास केन्द्र बनाएर गएको भूकम्पले बझाङसहित बाजुरा, बैतडी, डोटी, डडेलधुरा, दार्चुलालगायत जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ । घर, विद्यालय तथा अन्य भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।
भूकम्पपछि जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरमा र छब्बिस पाथिभेरा गाउँपालिकाको जालेबगरमा गएको सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध छ । सडक खुलाउने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।