२३ कार्तिक २०८१, शुक्रबार
किनमेलका लागि सीमापारि जानेको संख्यामा बढोत्तरी

  • टाइम्स संवाददाता

  • २ कार्तिक २०८०, बिहीबार १४:३८

नेपालगञ्ज : हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपईडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ । महान् चाड दसैँ शुरु भइसकेपनि नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, किनमेलका लागि सीमापारि जानेहरूको भिड नाकामा थामिनसक्नुछ । नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा हेल्प डेस्कनै स्थापना गरेर उनीहरूलाई भन्सार राजस्व तिर्न लगाउन शुरु गरेको छ । तर, पनि किनमेलका लागि सीमापारि जाने नेपालीहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।

भारतबाट सय रुपैयाँ भन्दा बढीको सामान ल्याउनेहरूसँग नेपालगञ्ज भन्सार कार्यालयले नाकामा राजस्व असुलीमा कडाइ पनि शुरु गरेको छ । पछिल्लो समयमा भारतबाट सामान ल्याउने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर नै सामान ल्याइरहेका छन् । सीमापारि सामान खरिदका लागि जाने नेपालगञ्ज, कोहलपुर, बासगढी र भुरीगाउँ लगायतका उपभोक्ताले भन्सार राजस्व तिरेर पनि रुपैडिहामा सामान सस्तो पर्ने गरेकोले उतैबाट ल्याउने गरेको जनाएका छन् ।

नाकामा भेटिनु भएका कोहलपुर १० का उपभोक्ता जीवन परियारले सीमापारिबाट चामल र चिनी लगायतका सामान ल्याएर भन्सार तिर्दा पनि नेपालगञ्ज र कोहलपुरभन्दा निकै सस्तो परेकोले ल्याएको बताए । उनले नेपालगञ्ज र कोहलपुरमा चाडपर्वको बेला व्यवसायीले मनपरी तरिकाले मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेकोले बाध्य भएर सीमापारि गएर सामान ल्याउनु परेको बताए । नेपाली उपभोक्तालाई सीमापारि जानबाट रोक्नका लागि नेपालमा उचित मूल्यमा सामान बिक्री गर्नु पर्ने परियारको सुझाव छ ।

Nabintech