२८ पुष २०८१, आईतवार
शुरु भयो कार्तिकस्नान, तुलसीको मठमा किन बालिन्छ आकाशदीप र पातालदीप

एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ


  • टाइम्स संवाददाता

  • १२ कार्तिक २०८०, आईतवार ०७:०५

काठमाडौं : आश्विन शुक्ल पूर्णिमासँगै ‘कार्तिकस्नान’ शुरु भएको छ। सनातन हिन्दु धर्मावलम्बी चान्द्रमासको कात्तिक महिनाभर कार्तिकस्नान गरी भगवान् विष्णुको आराधना गर्छन्।  चन्द्रमानको पात्रोअनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिकस्नान गर्ने परम्परा छ।

आषाढ शुक्ल एकादशीमा तुलसी रोपी कार्तिक शुक्ल एकादशीसम्म पूजा गर्ने र त्यो दिन विवाह गर्ने चलन छ। त्यसैको अंगस्वरूप कार्तिकस्नानलाई लिइन्छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासमध्ये पनि कार्तिक महिना विशेष महत्त्वको भएको बताइन्छ।  कार्तिक महिनाभर बिहान सबेरै उठी स्नान गरेर आकाशमा तारा देखिँदै तुलसीको पूजा गर्नुपर्ने विश्वास छ।

यो महिनाभर सबै देवता तुलसीको मठ वरिपरि बस्ने विश्वास गरिन्छ। यो समयमा ‘आकाशदीप’ र ‘पातालदीप’ बालेर तुलसीको पूजा गरिन्छ। बाँसको खम्बा बनाएर कुनै वस्तुमा राखेर बालिने बत्तीलाई आकाशदीप भनिन्छ। तुलसीको मठमा बालिएको दीपलाई बोलीचालीको भाषामा ‘पातालदीप’ भनिन्छ।

सात, १४ वा २१ हातको बाँस वा कुनै काठको खम्बा गाडी दीप बाल्ने व्यवस्था गरिएको हुन्छ। यो भगवान् विष्णुको नाममा बालिन्छ। पातालदीप बिहान बेलुकी नै बालिन्छ। आकाशदीप साँझको आरतीका वेला बालिन्छ।

यो वर्ष असोज २३ गते सुरु भएको यो क्रम कात्तिक २२  गते पूरा हुनेछ। भगवान् नारायणका नाममा ​विधिपूर्वक आकाशदीप बाली गरी अन्त्यमा दीपदान गर्नाले यमयातना भोग्नु नपर्ने वैष्णव ग्रन्थहरूमा उल्लेख छ। कार्तिकका अन्तिम पाँच दिनलाई विशेष महत्त्व दिइएको छ। एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ।

 

Nabintech