एमालेले मंगलबार (कात्तिक १४ गते) गते नै चियापान गर्ने भनेको थियो। तर, मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि एमालेले आजको लागि चियापान कार्यक्रम सारेको हो।
एमालेले पायक पर्ने सर्वसाधारणलाई पनि चियापान समारोहमा उपस्थित हुन आग्रह गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् चियापानमा सहभागी हुन सबैलाई निम्तो दिएका छन्।
माधव नेपालको पार्टीलाई पहिलोपटक एमालेको औपचारिक निमन्त्रणा
नेकपा एमालेले पहिलोपटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक कार्यक्रममा निमन्त्रणा गरेको छ।एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।
सो समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतलाई पत्र काटेर औपचारिक निमन्त्रणा गरिएको एमालेका एक नेताले जानकारी दिए। पार्टी विभाजनपछि एमालेले पहिलोपटक एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिँदै औपचारिक निमन्त्रणा गरेको हो।

त्यस्तै, एकीकृत समाजवादीका सबै सांसदहरूलाई पनि चियापान समारोहमा निमन्त्रणा गरिएको छ। एकीकृत समाजवादीका मन्त्रीहरूलाई पनि चियापानमा आमन्त्रण गरिएको छ। मन्त्रीहरूलाई मन्त्रीकै हैसियतमा निमन्त्रणा गरिएको एमालेका ती नेताले जानकारी दिए।
माधव नेपालले २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दै पार्टी विभाजन गरेका थिए। त्यसयता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्ततापूर्ण सम्बन्ध थियो। एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए।










