नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवनचोक, फुलटेक्रारोड बागेश्वरी मन्दिर परिसर र सेतु वि.क चोक सम्म यतिबेला भीड भाड छ । तिहार नजिकिँदै जाँदा सडकमा पसल राखिएपछि त्रिभुवनचोकदेखि त्रिवेणीमोडसम्म भीडभाड बढेको हो ।
हिन्दुको दोस्रो ठूलो चाड मानिने दिपावलीका अवसरमा बर्सेनि यो सकडमा पसल राख्ने गरिन्छ । चाडमा बीच सडकमा पसल राख्नु परम्परा जस्तै भइसकेको छ । धेरै पहिलादेखि चाडबाडमा यहाँ पसल लगाउँदै आइएको छ । पसल थापेर माटाका भाडाकुडा, फुल र मिष्ठान्न भोजन बिक्रि वितरण गर्नेहरुको ठुलै भिडभाड छ यती बेला नेपालगञ्जको गुल्जायर नगर भरि । केही पहिला उपमहानगरपालिकाले रोक्न खोजेपनि परम्पराको रूपमा व्याख्या गरेर व्यापारीले विरोध गरेपछि पसल राख्न दिइएको थियो ।
यतिबेला यो सडकमा घुइँचो छ । तिहारका हरेक सामान राखिएको छ । व्यापारीले भने यसपाली धेरै कारोबार नभएको बताइरहेका छन् । पसले ताम्बा लखेरले यसपाली धेरै कारोबार नभइरहेको बताए । सकडको बीचमा पसल राखिएपछि त्यहाँ चार पांग्रे सवारीलाई भित्र छिर्न दिइएको छैन । ट्राफिक र नगर प्रहरीले त्यसको व्यवस्थापन गरिरहेका छन् ।
यहाँ यतिबेला फूल किलोको दुई सयदेखि दुई सय पचास रुपैयाँमा कारोबार भइरहेको छ भने बाटोमा केराका पात, कमल आकारको फुल, भाई मसला र तिहारका लागि आबश्यक तयारी खाद्यान्नको समेत बिक्रि वितरण भईरहेको छ । बाटो चोकभरि लस्करै मिठाई पसल र स साना खुद्रा सामानले शहरमा तिहार आएको बास्तबिकता झल्किएको छ ।