१६ कार्तिक २०८१, शुक्रबार
लक्ष्मीमाताका रूपमा गरियो गाई पूजा

गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास


  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०८०, सोमबार १८:२६

नेपालगञ्ज : तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ।

गाईलाई लक्ष्मीमाताका रुपमा पनि सम्बोधन गरिन्छ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।  स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

यसैले गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि संविधानमै उल्लेख गरिएको छ। यसैले गाईलाई सम्मान गर्ने प्राचीनकालदेखिको परम्परा छ। गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसी कै दिन अर्थात् लक्ष्मीपूजाका दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ। यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधिने गरिन्छ।

Nabintech