२७ कार्तिक २०८१, मंगलवार
बाँकेमा किसानको धान खरिद गर्न सुरु

  • नवीन गिरी

  • ६ मंसिर २०८०, बुधबार १६:०६

नेपालगन्ज: नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषकहरूले उत्पादन गरेको धान खरिद गर्न सुरु गरेको छ । कम्पनीको प्राङ्गणमा धान विक्री गर्न आउनुभएका पहिलो किसान जानकी गाउँपालिका ५ का सावितराम यादवलाई अबिर र फूलमालाले स्वागत गरेर आजदेखि धान खरिद गर्न सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।

उहाँले पालिकाको सिफारिस लिएर आएका किसानहरूको धान परिक्षण गरेर एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न सुरु गरिएको बताउनुभयो । प्रमुख लामिछानेले यस वर्ष नेपालगन्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको जनाउँदै ३३ हजार क्विन्टल मोटा र १८ हजार मध्यम धान खरिद गर्न लागिएको बताउनुभयो ।

गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको लामिछानेले बताउनुभयो । सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपियाँ कायम गरेकोले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरेको छ ।

Nabintech