८ मंसिर २०८१, शनिबार
उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपालगन्ज आइपुगे

राँगाको स्वास्थ्य परिक्षण लगायत प्राविधिक काम गरेर पशु चिकित्सक सहितको टोलीले राष्ट्रिय पशु प्रजनन कार्यालयमा पुर्‍याउनेछ


  • सरला सुवेदी

  • ७ मंसिर २०८०, बिहीबार १०:३५

 नेपालगन्ज,बाँके: प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहार स्वरूप दिने भनिएका १५ वटा ‘मुर्रा’ राँगा बुधबार बेलुका नेपालगन्ज ल्याइएको छ । भारतको पन्जाबबाट राँगालाई स्थलमार्ग हुँदै नेपालगन्ज ल्याइएको हो । भारतको पन्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएको राँगाको क्वारेन्टाइन चेकजाँच गरेर मुलुकका तीन स्थानमा रहेका राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिने पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत डा। माधवप्रसाद अर्यालले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबीच दुई पक्षीय समझदारी अन्तरगत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने भारतले प्रतिबद्धता जनाएको थियो । प्रधानमन्त्रीको भ्रमण पश्चात् पशु सेवा विभागको टोली भारत पुगेर राँगा छनोट लगायतका काम गरेपछि स्थलमार्ग हुँदै रुपैँडिहा नाकाबाट नेपालगन्ज प्रवेश गराइएको डा। अर्यालले बताउनुभयो ।

‘आफ्नो देशको जैविक विविधता संरक्षण गर्ने हिसाबले कुनै पनि जेनेटिक मेटेरियलहरु बेचबिखन गर्न नदिने भारतको राष्ट्रिय नीति रहेछ, त्यसकारण किनेर ल्याउने सम्भावना पनि रहँदैन, त्यसका लागि दुई देशबीच समझदारी भएर मात्र आउन सम्भव भएको हुँदा प्रधानमन्त्री स्तरीय भ्रमणमा यो कुराको टुङ्गो लगाएको उहाँले जानकारी दिनुभयो।

प्रधानमन्त्री दाहालको भ्रमण पश्चात् प्राविधिक काम, राँगा छनोट लगायत काम गर्नका लागि पशु सेवा विभागका पुर्वउपमहानिर्देशक डा। सम्झनाकुमारी काफ्लेको संयोजकत्वमा एक टोली भारत पुगेको थियो । करिब एक साताअघि सोही टोलीले टुङ्गो लगाएका मुर्रा राँगालाई भारतीय अधिकारी हस्तान्तरण गरेपछि दुई वटा ट्रकमा लोड गरेर नेपालगन्ज ल्याइएको हो।

नेपालगन्ज आई पुगेको राँगालाई नेपालगन्जको जैसपुरस्थित पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएको छ । राँगाको स्वास्थ्य परिक्षण लगायत प्राविधिक काम गरेर पशु चिकित्सक सहितको टोलीले राष्ट्रिय पशु प्रजनन कार्यालयमा पुर्‍याउने बताइएको छ ।‘विभागका अनुसार पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा, लहानमा ५ वटा र बाँकेको खजुरास्थित गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ३ वटा राँगा राखिनेछ ।

Nabintech