३० कार्तिक २०८१, शुक्रबार
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

ईआईए प्रतिवेदन अनुसार प्रसारण लाइनको ७०.५४६ भाग वनको क्षेत्र, १५.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भागले ओगटेको छ


  • टाइम्स संवाददाता

  • २१ पुष २०८०, शनिबार १७:१८

कोहलपुर,बाँके :लामो समयदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा वन बाधक देखिएको छ । वन क्षेत्रमा पर्ने रुख कटानको लागि अनुमति नपाउँदा विस्तार कार्यमा ढिलाइ भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जले लाइन विस्तारको क्रममा रुख कटान बापत जग्गा नै दिनुपर्ने भनेको छ । सोही अनुसार ६३ बिगाहा जग्गा खरिद गरेर निकुञ्जलाई दिइसकिएको छ ।

यद्यपि रुख कटानका लागि निकुञ्ज विभागसँग सम्झौता हुन भने बाँकी रहेको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन प्रमुख रविकुमार चौधरीका अनुसार आयोजनाको तर्फबाट हुनुपर्ने सम्पूणर् काम भइसकेको छ । वन मन्त्रीबाट नै एउटा पत्र आएको छ । उक्त पत्रमा वनसम्बन्धी एउटा कानुन संशोधन गर्नुपर्ने भएकाले ढिलाइ भएको हो ।

यदि उक्त काम सम्पन्न भएपछि निकुञ्ज विभागसँग सम्झौता गर्ने र रुख कटानका लागि काम अघि बढ्ने उनले बताए । त्यसका लागि उपप्रधान तथा रक्षा मन्त्री पूणर्बहादुर खड्का र सांसद हृदयराम थानीले काम अगाडि बढाउनका लागि ताकेता गरिरहेका छन् । बाँकी खाली ठाउँमा गर्नुपर्ने कामहरू भने भइरहेका छन् ।

ईआईए प्रतिवेदन अनुसार प्रसारण लाइनको ७०.५४६ भाग वनको क्षेत्र, १५.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भागले ओगटेको छ । लाइन विस्तारका लागि १३ हजार रुख कटान गर्नुपर्नेछ । त्यसमध्ये सुर्खेतमा ६ हजार ८८०, बर्दियामा तीन हजार ३२०, बाँकेमा २ हजार ९१९ बराबर रुख काट्नुपर्ने देखिन्छ । यो लाइन विस्तार नहुँदा कर्णालीका नागरिकहरूले चर्को मात्रामा अनियमित विद्युतको मार खेपिरहेका छन् । अहिले सञ्चालन भइरहेको ३३ केभीको संरचना निकै पुरानो भइसकेको र लोड धान्न नसक्ने हुँदा दैनिकजसो विद्युत् अवरोध हुने गरेको छ । उक्त समस्या समाधान हुनका लागि एउटै विकल्प १३२ केभी हो ।

Nabintech