नेपालगञ्ज: एक सातादेखि शीतलहरसंगै चिसो अत्याधिक बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । तापक्रम निरन्तर घट्दै जाँदा चिसो बढेर जनजीवन कष्टकर बनेको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने गरेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारीमा काम गर्नेहरू बढी मारमा परेका छन् । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायत रोगका बिरामी बढेका हुन् । चिसोले भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी बढेको भेरी अस्पतालका सूचना अधिकारी एवम् फिजिसियन डा. संकेत रिसालले बताउनुभयो । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज लगायतका अस्पतालमा बिरामी भरिभराउ छन् ।
चिसो बढेपछि बाँकेमा सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बढ्दो शीतलहरसंगै ज्येष्ठ नागरिक, बालबालिका र न्यानो कपडामा पहुँच कम भएकाहरूको बिहानीको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको हो । मानिसहरूको बाक्लो हिँडडुल हुने चोकहरू, अस्पताल, निलसागर आश्रम, मानव सेवा आश्रम लगायतका सामूहिक आश्रय स्थलमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
वन कार्यालय र सामुदायिक वनहरूसँग समन्वय गरी सहुलियत दरमा दाउरा लिएर सामूहिक आगो ताप्ने (धुनी) प्रबन्ध मिलाउन स्थानीय सरकारसहित सबैलाई बाँके प्रशासनले अनुरोध गरेको छ । ‘शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०’ बमोजिम सक्रियता बढाउन सरोकारवाला निकाय तथा सङ्घसंस्था सबैलाई प्रशासनले लिखित अनुरोध गरिसकेको छ ।