८ मंसिर २०८१, शनिबार
नेपालगञ्जको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त नगर प्रहरी मुक दर्शक

त्रिभुवन चोकको उत्तरतर्फ रहेको मन्दिरदेखि एकलैनी जाने सडकसम्म मोटरसाइकल पार्किङ हुँदा हिड्डुल गर्नेलाई समेत असहज


  • टाइम्स संवाददाता

  • २६ पुष २०८०, बिहीबार १९:२९

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिकाले ट्राफिक ब्यवस्थापनका लागि नेपालगन्जका चोकमा नगर प्रहरी खटाएको छ । नगर प्रहरीले चोकमा खटिएका पनि देखिन्छन् । तर ति नगर प्रहरीले ट्राफिक ब्यवस्थापनमा एउटा माखो मार्न सकेका छैनन् । नेपालगन्जका पार्किङ अस्तब्यस्त छ । त्रिभुवन चोक, सदरलाइन, त्रिवेणी मोड, धम्बोझी चोक, विपी चोक लगायतका स्थानका सडकमा गरिएको पार्किङले सवारी आवागमनमा समस्या आएको छ नै पैदल यात्रीलाई समेत सास्ती भएको छ ।

‘एकलैनीदेखि त्रिभुवन चोकको वीच भागमा मोटरसाइकल पार्किङ गर्दा सवारी आवागमनमा एकदमै समस्या भएको छ । दुर्घटनाको खतरा पनि एकदमै बढेको छ,’ सदरलाइनमा भेटिएका नेपालगन्ज उपमहानगरपालिका १३ का मुस्तफा कुरैसीले भने, ‘ट्राफिक ब्यवस्थापनका लागि नगर प्रहरी खटिएका छन् । अगाडी बाटो छेकिने गरि उनीहरुकै अगाडी पार्किङ हुँदा पनि नगर प्रहरी बोल्दैनन् । ट्वाल्ल परेर हेर्छन मात्र ।’

सदरलाइन ग्राहकको अत्यधिक चाँप हुने बजार हो । तर, यहि सदरलाइनमा अब्यवस्थित मोटरसाइकल पार्किङले सडकलाई झनै साँघुरो बनाएको छ । नो पार्किङ लेखेको चिन्ह बनाएको स्थानमा समेत मोटरसाइकल पार्किङ गर्दा हिड्डुलमा समस्या भएको सर्वसाधारण बताउँछन् । ‘त्रिभुवन चोकको उत्तरतर्फ रहेको मन्दिरदेखि एकलैनी जाने सडकसम्म मोटरसाइकल पार्किङ हुँदा हिड्डुल गर्नेलाई समेत गाह्रो भएको छ ।

पार्किङको ब्यवस्थापन गर्न नसक्ने उपमहानगरसँग अरु आशा गर्ने ठाउँ रहेन ।’सडक अतिक्रमण गरि ब्यवसाय संचालन गर्दासमेत उपमहानगरले ब्यवस्थापन गर्न सकेको छैन । नेपालगन्जका विभिन्न स्थानका सडकमा ब्यापारीले ब्यापार गर्दासमेत नगर प्रहरीले उठाउन सकेको छैन । जनप्रतिनिधिका कारण नगर प्रहरीले चाहेर पनि काम गर्न नसकेको एक नगर प्रहरीले बताए । ‘कसैको सामान उठाउने वित्तिकै छाड्न जनप्रतिनिधिको फोन आउँछ । हामी त कामदार हौँ । उपमहानगरले बनाएको नीति, नियम पालना गराउने हो । जनप्रतिनिधिको निर्देशन पालना गर्ने हो । जनप्रतिनिधिले छाड्ने भनेपछि हाम्रो केहि लाग्दैन,’ नाम नबताउने सर्तमा नगर प्रहरीले भने, ‘हामीलाई जे निर्देशन आउँछ । जे काम दिइन्छ, त्यो बाहेक अरु गर्न मिल्दैन ।’

Nabintech