भक्तपुर : आगामी शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले राससलाई जानकारी दिनुभयो ।
चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो ।
केन्द्रका प्रबन्ध निर्देशक झाले भन्नुभयो, “आउँदो शैक्षिक सत्रका लागि एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ”, “अब बाँकी ५५ लाख थान पाठ्यपुस्तक पनि फागुन महिनाभित्रमा छपाइ सम्पन्न गर्नेछौँ ।” उहाँले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखिसकेको बताउँदै पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सै घण्टा चलिरहेको जानकारी दिनुभयो ।