९ पुष २०८१, मंगलवार
मुगु अस्पतालमा एक्सरे मेसिन नहुँदा बिरामीलाई सास्ती

  • टाइम्स संवाददाता

  • २० माघ २०८०, शनिबार ०९:३४

मुगु  : कर्णाली प्रर्देशको बिकट हिमाली जिल्ला मुगुको जिल्ला अस्पतालमा एक्सरे मेसिन बिग्रिएर मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती खेप्नुु परिरहेकाे छ ।

जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिए पछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

मेसिनको इमेज क्यासेट बिद्युत् भोल्टेज अनियमित भई बिग्रेको र मर्मतका लागि करिब २ लाख ५० हजार जति लाग्ने अस्पतालले जनाएको छ । मर्मत खर्चका लागि अस्पतालले रकम व्यवस्थापन गर्न सक्ने भए पनि विद्युत् भोल्टेज अनियमित हुने समस्याको समाधान नभइ सेवा सुरु गरे फेरि एक्सरे मेसिन बिग्रने भयले गर्दा मेसिन मर्मत नगरिएको अस्पतालको तर्क छ ।

यसै कारण जिल्लाका दूर दराजबाट उपचारको लागि जिल्ला अस्पताल ठिनी आउने बिरामी एक्सरे मेसिन अभावले अन्यौलमा पर्ने गरेका छन् ।

अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्सरे मेसिन मर्मत कार्यको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर कमल ढुङ्गानाको भनाई छ ।

Nabintech