१० पुष २०८१, बुधबार
नेपालगन्ज – बघौडा हुलाकी सडकले तिब्रता पाउदै

  • टाइम्स संवाददाता

  • ८ फाल्गुन २०८०, मंगलवार १४:१९

बाँके  :  पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगन्ज-बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्रे पनि सकिएको छ ।

ज्ञानिश शारदा जेभीले १२ करोडमा नेपालगन्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको ठेक्का पाएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगन्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताउनुभयो । उहाँका अनुसार, बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ ।

स्तरोन्नतिसँगै अहिले यो सडकखण्ड दुई लेनको भएको छ । विगतमा साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा कठिनाइ हुने गरेकामा अहिले दुवै छेउमा सडक विस्तार भएपछि आवागमनमा सहज भएको डुडुवाका स्थानीय युवा महेश चौधरीले बताउनुभयो । “साँघुरो सडक विस्तार भएपछि अहिले धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो । नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दूरी छोटो भएका कारण नेपालगञ्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्ती सोनारीका अगुवा तुलसी थारुले बताउनुभयो ।

Nabintech