१० बैशाख २०८२, बुधबार
आन्दोलनकारी संसद्‍मा पसेको घटना सुरक्षा कमान्ड सम्हालेका अधिकृतको लापरबाहीको उपज

  • टाइम्स संवाददाता

  • १५ फाल्गुन २०८०, मंगलवार ०६:२९

काठमाडौं : मिटरब्याजी पीडित सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेसँगै सुरक्षाको विषयमा प्रश्न चिह्न खडा भएको छ । राजधानीमा रहेको अति संवेदनशील क्षेत्र संसद् भवनभित्र आन्दोलनकारी छिर्नुले अहिले उपत्यकाको सुरक्षा अवस्था कस्तो छ भन्ने देखाएको छ । उपत्यका हेर्नका लागि एआईजी दीपक थापाको नेतृत्वमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ हेर्नका लागि एसएसपी भूपेन्द्र खत्रीको नेतृत्व छ भने बानेश्वर क्षेत्र हेर्नका लागि डिएसपीको नेतृत्वमा वृत्त नै छ । त्यसका अलवा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पनि छ । त्यति हुँदाहुँदै पनि आन्दोलनकारीको ठुलो जमान नै संवेदनशील क्षेत्रमा पुग्न भनेको सुरक्षा कमजोरी भएको देखिन्छ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त लामाले उपत्यकाका विभिन्न निकाय हुँदा हुँदै पनि संसद् भवनभित्र आन्दोलनकारी छिर्नु भनेको सुरक्षा कमजोरी बाहेक अरू केही हुन नसक्ने बताए । ‘एक जना दुई जना होइन, हुलै छिरेको छ । सेक्युरिटी राख्ने भनेकै यस्ता संवेदनशील क्षेत्रमा मानिसहरू छिर्न नपाउन भन्नका लागि हो । यो घटनाले त सिधै सेक्युरिटी ल्यापसेस् देखिन्छ,’ एआईजी लामाले  भने । उनकाअनुसार उपत्यकामा निगरानी गर्नका लागि विभिन्न सीसीटीभी क्यामेराहरू पनि हुने भएकाले त्यसबाट पनि सुरक्षाको विषयमा आङ्कलन नहुनु भनेको कमजोरी नै हो ।
यस्तै पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले प्रहरीको मात्रै नभएर नेपालमा भएका सम्पूर्ण सुरक्षा निकायको कमजोरी देखिएको प्रतिक्रिया दिए । ‘देशमा प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायहरू छन् । यी सबैको कमजोरी देखियो । देशमा पछिल्लो समयमा भइराखेको घटनाक्रमलाई आङ्कलन गरेर यस्ता विषयमा प्रहरी एनलाइसिस गर्नु पर्ने थियो,’ ठकुरीले  भने ।

उपत्यकामा भएका पछिल्लो समयका गतिविधिहरूलाई विश्लेषण गर्न नसक्दा यस्तो घटना भएको उनको बुझाइ छ । समग्रमा सुरक्षा कमान्ड सम्हालेका अधिकृतको लापरबाहीको उपज यो घटना भएको विज्ञहरुको भनाइ छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले भने केही कमजोरी देखिएको स्विकार्दै त्यसका बारेमा सत्य तथ्य जाँचबुझ गर्न समिति बनाइएको बताए । ‘त्यहाँ के कस्तो भएको हो भनेर हामीले छानबिनका लागि समिति बनाएका छौँ त्यो समितिले निष्कर्ष निकालेपछि मात्रै यथार्थ भन्न सकिन्छ,’ डीआईजी ढकालले  भने ।

यस घटनाबारे गम्भीर चासो लिँदै सोमबार साँझ नै गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुका साथै आवश्यक निर्देशन पनि दिइसकेका छन् । यस्तै प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरसहित ३२ जनालाई संसद् भवनको जिम्मेवारीबाट फिर्ता बोलाएर नयाँ टोली पठाउने निर्णय पनि गरिसकेको छ।

Nabintech