काठमाण्डौ – केही दिनदेखि मौसममा फेरबदलसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले यसलाई ‘फ्लुभिड’ को नाम दिएका छन् ।
काठमाण्डौमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएको हप्तापछि १० जनाभन्दा धेरै बिरामीमा ‘फ्लुभिड’ पाईएको छ । यसमा धेरै ज्येष्ठ नागरिक रहेका डाक्टरले बताएका छन् । तर बालबालिका, दीर्घरोगी र अरू उमेर समूहका पनि उत्तिकै जोखिममा रहेका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । अहिले अस्पताल पुग्ने बिरामीमा मौसमी फ्लु र कोरोनाको लक्षण एकैसाथ देखिएको र परीक्षण गर्दा दुवै भाइरस पुष्टि भएको उहाँको भनाइ छ ।
अहिलेको मौसममा रुघाखोकी र सामान्य ज्वरो स्वभाविक भए पनि केही वर्षदेखि कोरोना संक्रमण पनि हुन थालेको छ । दुवै भाइरस सक्रिय भएर स्वास्थ्य समस्या आएको भने पहिलो पटक अनुभव गरेको डाक्टर पुनले बताउनुभयो । ‘फ्लुभिड’ को लक्षण पनि मौसमी रुघाखोकी र कोरोनाको जस्तै हुने सरुवारोग विशेषज्ञ डाक्टर पुनको भनाई छ ।