कोहलपुर : कैलालीको नुक्लिपुरका थारु महिलालाई सखिया नाचको तालिम प्रदान गरिएको छ।
सखिया नाच सिकाउने र संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजना र नुक्लिपुर सामुदायिक होमस्टेको व्यवस्थापनमा १५ दिने सखिया नाच तालिम प्रदान गरिएको हो। पछिल्लो समय आधुनिक नाचगानको प्रभावका कारण मौलिक नृत्यहरू संरक्षणमा चुनौती देखिएको छ।
तालिम समापनको अवसरमा प्रमुख अतिथिसमेत रहनू भएका सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री कैलाश चौधरीले सङ्घीयता जोगाउनका लागि विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भाषा, संस्कृति संरक्षणमा प्रदेश सरकार लागि परेको उल्लेख गर्नुभयो।









