११ श्रावण २०८१, शुक्रबार
मनसुनमा देखिने रोगबाट बच्ने केही उपाय

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८१, शुक्रबार १०:५२

मनसुनमा देखिने रोगबाट बच्ने केही उपाय

वर्षातकाे समय दूषित पानी र खानाका कारण विभिन्न रोग लाग्न सक्छन् । विशेष गरेर यो समयमा झाडा–पखाला र ज्वरोका बिरामी धेरै देखिन्छन् । भाइरल हेपाटाइटिस (ए र ई) पनि हुन सक्छ ।

झाडा–पखाला : झाडा–पखालाको मुख्य कारण दूषित पानी र खराब खानपान हो । दूषित पानीले विभिन्न संक्रमण फैलाउन सक्छ । वर्षाको समय ढल वा अन्य फोहोर मिसिएर पानीको मुहान फोहोर हुन सक्छ । जसले झाडा–पखालाको संक्रमण फैलाउने जोखिम रहन्छ । त्यहीकारण उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्रै पिउनुपर्छ ।

फुड पोइजनिङ : यस मौसममा देखिने अर्को समस्या फुड पोइजनिङको हो । त्यहीकारण बासी खाना, झिँगा भन्किएको वा दूषित खाना खानुहुँदैन । ताजा र राम्ररी पकाइएको खाना खानुपर्छ ।

ज्वरो : ज्वरो विभिन्न रोगको लक्षण हुन सक्छ । मुख्यतः यस समय धेरैमा टाइफाइड हुने जोखिम रहन्छ । त्यहीकारण खानपानमा ध्यान दिन जरुरी छ । अत्यधिक ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्नुपर्छ ।

डेँगु : मनसुनको समयमा लामखुट्टेको संख्या निकै बढ्ने गर्छ । यसले विभिन्न रोग सार्छ । यस समय विशेष गरी डेँगुको जोखिम रहन्छ । लामखुट्टेलाई घरवरपर आउन नदिनका लागि सरसफाइमा ध्यान दिनुपर्छ । घरवरिपरिको वातावरण सफा राख्ने, खाल्डाखुल्डी पुर्नेलगायत काम गर्न सकिन्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, शरीरमा मस्क्युटो रिपेलेन्ट लगाउने गर्नुपर्छ । फुल स्लिभ भएका कपडा लगाउनु राम्रो हुन्छ ।

स्क्रब टाइफस : मनसुनको समयमा स्क्रब टाइफस पनि धेरैमा देखिन्छ । ‘ओरेन्सिया सुसुगामोसी’ नामक संक्रमित किर्नाले टोकेपछि स्क्रब टाइफस लाग्छ । प्रायजसो मुसा वा अन्य जीवजन्तुको शरीरमा बस्ने यस्तो संक्रमित किर्नाले टोकेपछि ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् । यो किर्ना प्रायः झाडी, खेतबारी, वनजंगल, घरवरिपरिको झाडी वा घुर्‍यान हुने ठाउँमा देखिने गर्दछ । त्यहीकारण झाडी वा बारीमा जथाभावी नबस्ने वा नांगो खुट्टाले नटेक्ने, घरवरपर सफा राख्ने, खेतबारी जाँदा पन्जा प्रयोग गर्ने, शरीर ढाक्ने लामो कपडा लगाउनेलगायत सतर्कताका उपाय अवलम्बन गर्नुपर्छ ।

बच्ने केही उपाय 
– उमालेको वा निर्मलीकरण गरेको पानी मात्रै पिउनुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । साबुनपानीले हात पटक–पटक धुनुपर्छ ।

– पोषणयुक्त खाना खानुपर्छ । झिँगा भन्किएको र बासी खानाबाट टाढा रहनुपर्छ । जंकफुड नखानु राम्रो हुन्छ । तरकारीहरू राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

– आफूवरपरको वातावरणलाई सफा राख्नुपर्छ । लामखुट्टे फैलन नदिनका लागि घरवरपरका खाल्डाखुल्डी पुर्नु राम्रो हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, शरीरमा मस्क्युटो रिपेलेन्ट लगाउन सकिन्छ । त्यस्तै, फुल स्लिभ भएका कपडा लगाउनु राम्रो हुन्छ ।

– बाहिर निस्कँदा मास्क प्रयोग गर्न बिर्सनुहुँदैन ।

Nabintech