८ पुष २०८१, सोमबार
गाँजा खेती अध्ययन र खुला गर्न एक महिनाभित्रै नियमावली बन्दै

  • टाइम्स संवाददाता

  • २६ जेष्ठ २०८१, शनिबार ०७:३३

कोहलपुर : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषयसम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने बताए । ।गृहमन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने भन्दै उनले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने प्रष्ट पारे । यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको उनको भनाइ छ ।उनले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए ।

उनले भने, ‘समितिको बैठक दुई हप्तापछि भएको भए अझ गृह मन्त्रालयले गाँजा खोल्ने विषयमा बनाएको प्रतिवेदन हातमा दिने थियौं । म गृहमन्त्री भएर पदभार ग्रहण गरेपछि चासोका साथ काम गरिरहेको थिएँ । त्यसको अन्तिम चरणमा आइपुगेका छौं । हामीले गाँजा खेती खोल्नको लागि द्विविधा राख्नुपर्ने अवस्था देखेको छैन । गाँजा खेतीका विषयमा कानून बन्दै गर्दा अध्ययन र अनुसन्धान रोकिनु हुन्न । विश्वका धेरै देशले अध्ययन गरी औषधिजन्य प्रयोग गरेर प्रमाणित गरी लागू गरिसकेको अवस्थामा अध्ययन र अनुसन्धानको लागि यो रोकिँदैन । गृहमन्त्रालयले सम्बन्धित सबै मन्त्रालयहरुसँग समन्वय गरेर काम गरिरहेको छ ।’
लागुऔषध दुर्व्यसनी बढेको तर यसमा गाँजाको अवस्था के हो भन्ने अध्ययन भइरहेको उनले बताए । गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना पनि चलाउने उनको भनाइ छ ।

Nabintech