१३ असार २०८१, बुधबार
लुम्विनी प्रदेश सरकारको प्राथमिकतामा कृषि र पर्यटन

  • टाइम्स संवाददाता

  • ४ असार २०८१, सोमबार १३:२८

कोहलपुर  : लुम्बिनी प्रदेश सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटले कृषि, उद्योग, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । त्यसै गरी बजेटले पूर्वाधार क्षेत्रको विकासका साथै तालिम, सिप विकास, आर्थिक सामाजिक सशक्तीकरण, विपन्न वर्ग क्षेत्रको विकासमा प्राथमिकता दिएको छ ।

बजेटले अधिकांश पुराना र साना आयोजना पूरा गर्न प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा एक बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।

अर्घाखाँचीको नरपानीलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्ने, लुम्बिनीमा अर्को वर्ष विश्व बौद्ध शिखर सम्मेलन गर्ने, बुटवल–पाल्पा वैकल्पिक सडकका रूपमा बुटवलको धागो कारखानादेखि झुम्सा जोड्ने सडकका लागि बजेट विनियोजन गरिएको छ ।

यसै गरी रोल्पाको रन्टिगुढी (होलेरी), पाल्पाको ख्याहा, दाङ देउखुरीको देवीकोट, अर्घाखाँचीको नरपानी र नवलपरासीको महलपोखरीलाई पयर्टन प्रवर्धन गर्न ‘हिल स्टेसन’ का रूपमा विकास गर्न आवश्यक रकम छुट्याइएको छ ।

बजेटमा लुम्बिनीका महत्वपूर्ण पयर्टकीय गन्तव्यका रूपमा विकास गर्न प्युठानको स्वर्गद्वारी, गल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली, दाङको पाण्डवेश्वर, बाँकेको वागेश्वरी र बफार्नी बाबाधामका लागि बजेट विनियोजन गरिएको छ ।

Nabintech