१८ असार २०८१, सोमबार
धम्बोझी क्लब ‘ए’ डिभिजन जिल्ला लिग च्याम्पियन

  • टाइम्स संवाददाता

  • १५ असार २०८१, शुक्रबार ०६:२०

कोहलपुर / धम्बोझी क्लब नेपालगन्जले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ को उपाधि जितेको छ । बिहिबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको फाइनल खेलमा धम्बोझीले कोहलपुर रेसिङ सहारा क्लबलाई २–० ले हराउँदैं च्याम्पियन बनेको हो । जितसँगै धम्बोझी लुम्बिनी प्रदेश स्तरीय लिग फुटबलमा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ । धम्बोझीको जितमा क्षितिज थापा मगर र मनिष सुनारले १–१ गोल गरे । क्षितिजले खेलको १२औं मिनेट र मनिषले ६५औं मिनेटमा गोल गरेका थिए । फाइनलमा खेलमा प्लेयर अफ द म्याच धम्बोझीका क्षितिज थापामगर भए ।
च्याम्पियन बनेको धम्बोझीले १ लाख र उपविजेता कोहलपुर रेसिङ सहारा क्लबका खेलाडीहरुले ५१ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छन् । बिहिबार विजेता तथा उप विजेता खेलाडीहरुलाई प्रमुख अथिती कोहलपुर नगरपालिका नगर प्रमुख पुर्णप्रसाद आचार्य, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम एन्फा सदस्य भोजराज शाही लगायतले पुरस्कृत गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा धम्बोझीका क्षितिज थापामगर सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । यसैगरी प्रतियोगितामा कोहलपुर रेसिङका सालान परियार उत्कृष्ट गोलकिपर, धम्बोझीका विष्णु कसेरा उत्कृष्ट रक्षक, कोहलपुर रेसिङका विशाल थापामगर उत्कृष्ट मिडफिल्डर, धम्बोझीका प्रेम कुमार सुनार सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकको रुपमा धम्बोझीका दिपेन्द्र घले पुरस्कृत भए ।

Nabintech