२२ भाद्र २०८१, शनिबार
देशका धेरै ठाउँमा दिनभर झरी पर्ने, नदी र खोलामा बाढी

  • टाइम्स संवाददाता

  • २३ असार २०८१, शनिबार १२:२९

कोहलपुर  : काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

आज राति पनि कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिदेखि नै पानी परिरहेका ठाउँका नदी र खोलामा बाढी आएको छ ।

काठमाण्डौ उपत्यका भएर बहने बागमती नदीसहित नारायणी, पश्चिम राप्ती, कालीगण्डकी र कोशी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ । पानी परिरहेका ठाउँका नदी खोला किनारमा बस्नेलाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

ललितपुरको बागमती नदी खोकना जलमापन केन्द्रमा जल सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ । तिनाउ नदी, पश्चिम राप्ती, कोइली नदी, डुम्रे खोला, बडिगाड, बबई नदी लगायत क्षेत्र भइ बहने अरू स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Nabintech