७ कार्तिक २०८१, बुधबार
भारतलाई हराएर समूह विजेता बन्दै बंगलादेश सेमिफाइनलमा, अन्तिम चारमा पुगे नेपालको प्रतिद्वन्द्वी को ?

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०८१, बुधबार २०:१८

काठमाडौं । पाँच पटकको विजेता भारतलाई ३–१ गोलले हराउँदै साविक विजेता बंगलादेश नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले पहिलो हाफमै ३ गोल गरेको थियो ।

समूह एमा बंगलादेश ४ अंकसहित विजेता बन्यो भने भारत ३ अंकसहित उपविजेता बनेर सेमिफाइनल पुग्यो । पहिलो खेलमा बंगलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने भारतले पाकिस्तानलाई ५–२ गोलले हराएको थियो ।

बंगलादेशले अब समूह बीको उपविजेता र भारतले समूह बीको विजेतासँग सेमिफाइनल खेल्ने छन् । समूह बीमा दुई खेलपछि नेपाल र भुटानको समान ४ अंक छ । अन्तिम खेलमा नेपालले श्रीलंका र भुटानले मालदिभ्ससँग खेल्ने छ ।  २ खेलबाट ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ। गोलअन्तरमा नेपाल पहिलो स्थानमा छ । श्रीलंकासँग बराबरीले पनि नेपालको सेमिफाइनल स्थान पक्का गर्ने छ । गत संस्करणमा भारतलाई सेमिफाइनलमा हराएको नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

Nabintech