बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई आज ९शुक्रबार० फेरि कास्की फर्काइने भएको छ । रूपन्देहीमा उनको बयान सकिएपछि पुनस् कास्की फिर्ता पठाउन लागिएको हो । आज पहिलो उडानमार्फत् उनलाई पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालले बताइन् । यसअघि बिहीबार नै उनलाई पोखरा पठाउने तयारी गरेपनि बयान ढिलासम्म चलेपछि पठाउन सकिएको थिएन । उनीसँग तीन दिनमा २३ घण्टा बयान लिइएको थियो । जसमा उनीसँग ७४ प्रश्नमा सवाल(जवाफ भएको थियो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई मंगलबार पोखराबाट भैरहवा ल्याइएर त्यही दिनै बयान शुरू गरिएको थियो । रविसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बिहीबारसम्म बयान चल्यो । तीन दिनमा ७४ प्रश्न सोधिएको र लामिछानेले लगभग सबै प्रश्नमा इन्कारी बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अनुसार मंगलबार मौखिक र बुधबारदेखि लिखित बयान लिइएको थियो ।
गत आइतबार कास्की जिल्ला अदालतले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चौथोपटक म्याद थप दिएको थियो । पोखरामा उनका विषयमा अनुसन्धान जारी छ । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ (सेवा शुल्क कटाएर)गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, रविको नाम भने उल्लेख गरिएको थिएन । उक्त प्रकरणमा सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् ।