काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विप्लव नेतृत्वको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द र अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भेट गरेका छन् । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा उठाइने विभिन्न विषयवस्तु र गरिने समझदारी, देशमा बढ्दै गइरहेका विभिन्न समस्याको विषयमा साझा धारणा बनाउन र यसअघि सरकार तथा नेकपा माओवादीसँग भएका समझदारी कार्यान्वयन भेटघाटको मुख्य विषय रहेको प्रवक्ता प्रकाण्डले नेपाल प्रेसलाई बताए ।
प्रधानमन्त्रीसँग भएको भेटमा मुख्य तीन विषयमा गम्भीर कुराकानी भएको उनको भनाइ छ । प्रकाण्डले भने,‘पहिलो त सरकारले यसअघि हाम्रो पार्टीसँग गरेका सहमति पूर्ण कार्यान्वयनमा ल्याएको छैन, त्यसबारे कुरा राख्यौं, दोस्रो प्रधानमन्त्रीको चीन भ्रमणमा हुने महत्वपूर्ण सम्झौता राष्ट्रहीतविपरीत नहोउन् र देश र जनताका पक्षमा दृढणाका साथ कुराहरू राख्नुहोस् भन्ने हो, तेस्रो अहिले देशका बढ्दै गएका मुख्य समस्याका विषयमा साझा धारणा बनाएर जाऔं भन्ने हो, तीनै विषयमा प्रधानमन्त्रीले सकारात्मक भएको जनाउनुभयो ।’
देश र जनहितको विषयमा चीनसँग सहमति गर्न सुझाव दिँदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन प्रधानमन्त्रीलाई विप्लवको आग्रह थियो ।
प्रकाण्डले साझा धारणा बनाउन पहिले सरकार र पछि दलहरूबीच बसेर अगाडि बढ्नुपर्ने विषय राखेको पनि बताए ।