काठमाडौं- लामो कसरातपछि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन तयार भएका छन् ।दुई दलविच अनुदान सहयोगका आधारमा विकास परियोजना अघि बढाउने गरी बीआरआई अघि बढाउने सहमति भएको हो । सहमति अनुसार ‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनलाई ६ वटा पूर्वाधार परियोजना प्रस्ताव गरिने भएको छ ।
सत्तासाझेदार कांग्रेस र एमालेका नेता सम्मिलित कार्यदलले तयार पारेको ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा शुक्रबार सहमति जुटेको हो । कार्यदलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विकास सल्लाहकार डा। युवराज खतिवडा तथा कांग्रेसका महामन्त्री गगन थापा थिए । कार्यदलले शुक्रवार दिनभर छलफल गरी सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको स्रोतले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले बीचमा ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा सहमति भएको जानकारी दिए । कार्यदलले तयार पारेको मस्यौदालाई दुई दलको शीर्ष नेतृत्वबीच सहमति भई समीक्षा तथा स्वीकृतिका लागि चीनलाई पठाउने सहमति भएको उनको भनाई छ । अब योसँगै चीनले मस्यौदालाई स्वीकार गरेको अवस्थामा वा उसले गरेको संशोधित प्रस्तावमा नेपाल सहमत भएको अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुनेछ ।
कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ, ‘सन् २०१७ को समझदारीपत्रको धारा ३ (२) मा कुनै पनि विशेष क्षेत्रमा सहयोगको लागि दुई पक्षले पारस्परिक सहमतिका सर्तहरुमा आधारित सम्झौता वा अन्य सहयोगका दस्तावेज सम्पन्न गर्ने प्रावधान उल्लेख भएको छ । तसर्थ सबैरव्यापक क्षेत्र समेटेरभन्दा पनि कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने अहिलेको लागि आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार आदि क्षेत्रमा सीमित भएर सहकार्य फ्रेमवर्कको मस्यौदा तयार गरेको छ ।’
सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका दौरानमा पूर्वाधार विकास, खेलकुद विकास र सहरी विकास गरी ६ वटा परियोजनाको लागि प्रस्ताव गर्न लागिएको एक नेताले बताए । एक जलविद्युत् आयोजना, एक ट्रान्समिसन लाइन, नेपाल–चीन औद्योगिक फ्रेन्ड्स पार्क, मैत्रीपूर्ण पार्क, झापामा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स, मदन भण्डारी विश्वविद्यालय र काठमाडौं साइस्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम निर्माणको प्रस्ताव गर्न लागिएको बताइन्छ ।